
कैलाली : धनगढी उपमहानगरका विभिन्न वडामा अहिले ५ वटा रिचार्ज पोखरी निर्माणको काम भइरहेको छ । यस योजना अन्तर्गत वडा १५ मा बढीगडैया ताल बनिसकेको छ । यस्तै वडा ७ मा बेहडाबाबा ताल निर्माण भइरहेको छ । वडा १९ को रक्तौना ताल निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने वडा १५ मै अर्को ताल गरी पाँच वटा रिचार्ज पोखरी निर्माण भैरहेको हो।
यी पोखरीका लागि उपमनगरले चालु आर्थिक वर्षमा आन्तरिक स्रोतबाट डेढ करोड बजेट छुट्याएको छ । यीम ध्ये चारवटा तालमा पालिकाको बजेट खर्च हुनेछ भने एउटा ताल संयुक्त राष्ट्र संघ (UNDP) को ४० लाख सहयोगमा निर्माण हुनेछ ।
निर्माणपछि तालहरू निजी क्षेत्रलाई सञ्चालन गर्न अनुमति दिइने इन्जिनियर भट्टले बताउनुभयो। ‘हामीले निजी क्षेत्रलाई सञ्चालन गर्न दिएपछि उसले थप लगानी लगाएर पर्यटकलाई आकर्षण गर्ने स्ट्रक्चर तयार गर्छ । त्यस बापतको आम्दानी केही उपमहानगरपालिकालाई पनि बुझाउँछ’ उहाँले भन्नुभयो।
उपमहानगरले नै संरक्षण गरेको वडा ८ को तौलाहा ताल यसैगरी व्यवस्थापन भएको छ । ताल उपभोग गरिरहेका लगानीकर्ताले त्यसबाट आम्दानी गरेबापत मासिक ३६ हजार रुपैयाँ उपमहानगरपालिकालाई बुझाउने गर्छन् । तालबाट मासिक आम्दानी १ लाखभन्दा बढी हुने गरेको छ ।
त्यस्तै वडा ६ मा रहेको ताल पनि उपमहानगरपालिकाले संरक्षण गरेर स्थानीयको जिम्मा लगाएको छ । स्थानीयले त्यसमा माछापालनबाट आम्दानी गरी विद्यालयलाई सहयोग गरिरहेका छन् । केही सहरी क्षेत्रका ताल संरक्षण गर्दा अतिक्रमण गर्नेहरूले विवाद गरे पनि ताल संरक्षणमा खासै चुनौती नआएको इन्जिनियर भट्टले बताउनुभयो । तर सामुदायिक वनका तालहरू संघीय सरकार मातहत रहने हुँदा काम गर्न कठिनाइ आएको उहाँले बताउनुभयो।
उहाँका अनुसार उपमहानगरपालिकाले वडा ११ स्थित सामुदायिक वन क्षेत्रको पञ्चमुखी तालको संरक्षण र व्यवस्थापनका लागि गुरुयोजना बनाएको छ । अहिले धनगढी उपमहानगर ताल पत्ता लाग्ने बित्तिकै त्यसको संरक्षण र व्यवस्थापनमा जोड दिन थालेको छ ।
यसबाट स्थानीयलाई आय आर्जनमा जोड्ने, वातावरण संरक्षण गर्ने र भूसतहको पानीको वृद्धि गरी भविष्यमा पानीको समस्या आउन नदिने धनगढी उपमहानगरको लक्ष्य छ। ताल व्यवस्थापनपछि राजस्व संकलनमा पनि वृद्धि हुने उपमहानगरपालिकाको विश्वास छ ।


273 पटक हेरिएको 

