भेरी लिफ्ट खानेपानी आयोजनाको कामले गति लियो, रुख कटानदेखि ट्यांकी निर्माण धमाधम

  वास खबर सम्बाददाता  294 पटक हेरिएको

सुर्खेत : भेरी लिफ्ट खानेपानी आयोजनाले गति लिएको छ । खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सञ्जीवकुमार साहले कानुनी प्रक्रिया पूरा भएपश्चात् फिल्डस्तरमा धमाधम रुख कटानको काम भइरहेको बताउनुभयो।

उहाँका अनुुसार आयोजना कार्यान्वयन हुने क्षेत्रमा पर्ने चार सामुदायिक वनमध्ये दुईवटामा रुख कटानको काम सम्पन्न भएको छ । बाँकी दुई वटामा पनि रुख कटानको काम सुरु भइसकेको बताउनुभयो। उहाँका अनुसार यी सामुदायिक वनमा सात किलोमिटर पाइप लाइनका लागि अबको १५ दिनभित्र रुख कटानको काम सम्पन्न हुनेछ ।

रुख कटानको काम सम्पन्न भएपछि आयोजनाको मुहान क्षेत्रमा इन्टेक र पानी शुद्धीकरण गरिने क्षेत्रमा संरचना निर्माणको काम सुरु हुनेछ । त्यस लगत्तै सात किलोमिटर मुख्य पाइप लाइन विस्तारको काम सुरु हुनेछ । ‘प्याकेज–१ अन्तर्गत मुख्य प्रसारण लाइनमा पर्ने रुख कटानसँगै अमृत डाँडामा तीनवटा मुख्य ट्यांकी निर्माणको काम सुरु भएको छ,’ आयोजना प्रमुख साहले भन्नुभयो, ‘बजार क्षेत्रका विभिन्न स्थानमा ट्यांकीसँगै पानी सप्लाई पाइप बिछ्याउने कार्य जारी छ ।’ साहका अनुसार पानी वितरणका लागि ३४ किलोमिटर पाइप लाइन बिछ्याउनुपर्नेमा हालसम्म २३ किलोमिटरको ठेक्का लागेर काम सुरु भइसकेको छ, जसमध्ये १२ किलोमिटर पाइप लाइन विस्तार भइसकेको छ ।

पहिलो प्याकेजका कामसँगै अबको केही समयमै प्याकेज– २ को ठेक्का निकाल्ने तयारी छ । प्याकेज– २ मा भेरीबाट लिफ्ट गरेर ल्याइएको पानी वीरेन्द्रनगर उपत्यकाका घर–घरमा खसाल्ने प्रणाली जडान लगायतका कामहरू पर्नेछन् ।

लामो समयको अध्ययनपछि गत वर्षको भदौमा वीरेन्द्रनगर नगरपालिकाले ड्रिम प्रोजेक्टका रूपमा आयोजनालाई कार्यान्वयनको चरणमा प्रवेश गराएको थियो । गत १३ भदौ २०८१ मा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना वीरेन्द्रनगर आयोजना इकाइ कार्यालय सुर्खेत र निर्माण व्यवसायीबीच निर्माण सम्झौता भई आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको थियो ।

प्याकेज–१ निर्माणको जिम्मा चिनियाँ कम्पनी सिञ्ज्याङ टम्र्स इन्टरनेसनल इकोनोमी एन्ड टेक्निकल को–अपरेसन कम्पनीले लिएको छ । आगामी तीन वर्षभित्र भेरीको पानी वीरेन्द्रनगरमा ल्याउने गरी निर्माण कम्पनीसँग ३ अर्ब ५० करोड ८ लाख रुपैयाँ लागतमा सम्झौता भई काम अघि बढेको थियो । प्रदेशकै ठूलो नगरपालिकाका रूपमा रहेको वीरेन्द्रनगरमा आगामी २५ वर्ष (सन् २०५०) सम्म वृद्धि हुन सक्ने जनसंख्यालाई दीर्घकालीन खानेपानीको सहज आपूर्ति गर्ने लक्ष्यका साथ आयोजना अगाडि बढिरहेको छ ।

यसअघि ठूलो लगानीको आयोजना भएकाले बीचमा कुनै कारण डिजाइन फेल नहोस् भन्ने हेतुले पुनः परामर्शका लागि आयोजना कार्यान्वयनको जिम्मा पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागले पटक–पटक विज्ञहरूको राय मागेको थियो । दुई खण्डमा गरी ६ अर्ब रुपैयाँको लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समयावधिमा इन्टेक निर्माण गरिने स्थान परिवर्तन बाहेक अन्य डिजाइन ठीक भएसँगै आयोजना निर्माणको चरणमा प्रवेश गरेको थियो ।

संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा चालु आर्थिक वर्ष २०८१/८२ बाट संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर उपत्यकामा ल्याउन लागिएको हो, जसअनुसार संघीय सरकारको ८० प्रतिशत तथा प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको २० प्रतिशत लगानी हुनेछ ।

दिगो तथा सुधारिएको खानेपानी आपूर्ति र सरसफाइ सेवा उपलब्ध गराउनुका साथै सेवा प्रवाहमा स्थानीय क्षमतामा अभिवृद्धि गर्ने लक्ष्य राखेको आयोजनाको पहिलो चरणका काममा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब सात मिटर गहिरा दुईवटा इन्टेक निर्माण गरिनेछ । त्यसपश्चात् इन्टेकदेखि करिब ४ सय मिटरको दूरीमा पानी प्रशोधन प्रणाली निर्माण, सात किलोमिटर पाइप लाइन विस्तारसँगै वीरेन्द्रनगर–११ स्थित अमृतडाँडामा मुख्य रिजर्भ ट्यांकी निर्माण हुनेछन् ।

यस्तै, पहिलो चरणकै काममा ट्यांकीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारण लाइन विस्तार हुनेछ । दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गर्ने योजना छ । वितरण प्रणाली तथा डिस्ट्रिक्ट मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिब ३–३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

भेरीको पानी चार मिटर उचाइमा प्रशोधन ट्यांकीमा खसालिनेछ । त्यसपछि ट्यांकीको पानी करिब चार किलोमिटर लामो पाइपबाट अमृतडाँडामा निर्माण गरिने रिजर्भ ट्यांकीमा खसालिनेछ । पाँच सय ५० मिलिमिटर प्रतिसेकेण्ड क्षमताको पानी बोक्न सक्ने पाइप अमृतडाँडामा राखेर मुख्य ट्यांकीसम्म विस्तार गरिनेछ । अमृतडाँडामा ३० लाख क्षमताका तीनवटा रिजर्भ ट्यांकी निर्माण हुनेछन् । भेरीबाट पानी लिफ्टिङका लागि दुई मेगावाट विद्युत् आवश्यक पर्ने बताइएको छ ।

लिफ्ट प्रविधिमार्फत ल्याइने भेरीको पानी वीरेन्द्रनगर नगरपालिकामा १ देखि १३ वडासम्म वितरण गरिनेछ । तीन वर्ष निर्माणको समायावधि रहेको आयोजना निर्माण सम्पन्न भइसकेपछि पनि थप तीन वर्ष आयोजनाको सञ्चालन र व्यवस्थापको जिम्मा निर्माण कम्पनीले लिनेछ । त्यसपछि आयोजनाको सम्पूर्ण स्वामित्व वीरेन्द्रनगर नगरपालिकाको मातहतमा आउनेछ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार