अग्यौली खानेपानी संस्थाले आफ्ना उपभोक्ताको एम्बुलेन्स खर्च व्यहोर्ने

  वास खबर सम्बाददाता  232 पटक हेरिएको

नवलपुर : नवलपुरको कावासोती-१६, डण्डामा रहेको अग्यौली खानेपानी संस्थाले आफ्ना उपभोक्ता बिरामी परेर एम्बुलेन्समा उपचार गर्न अस्पताल जानु परेमा लागेको सबै एम्बुलेन्स भाडा तिरिदिने भएको छ ।

संस्थाले आठौं वार्षिक साधारण सभामा आफ्ना सम्पूर्ण उपभोक्ताका लागि यस्तो व्यवस्था गरेको घोषणा गरिएको संस्थाका कार्यवाहक अध्यक्ष गोपाल श्रीपालीले जानकारी दिनुभयो । ‘‘हाम्रा उपभोक्ता बिरामी परेमा एम्बुलेन्स मार्फत नजिकका अस्पतालसम्म पुर्‍याउनका लागि लाग्ने भाडा संस्थाले बेहोर्ने निर्णय गरेका छौँ,’’ कावा अध्यक्ष श्रीपालीले भन्नुभयो ।

यो संस्था गतवर्ष गण्डकी प्रदेशमा उत्कृष्ट घोषित भएको थियो । देशभरबाट सात वटा खानेपानी संस्था उत्कृष्ट घोषित भएकोमा गण्डकी प्रदेशबाट अग्यौली खानेपानी सर्वोत्कृष्ट भएको हो । कार्यसमितिको तर्फबाट पनि देशभरीका अध्यक्षहरूमा उत्कृष्टता हाँसिल गरेको थियो ।

२०६४ सालमा स्थापना भएको संस्थाले स्वच्छ र सर्वसुलभ रूपमा खानेपानी वितरण गरेको अग्यौली खानेपानी तथा सरसफाइ संस्थाका सचिव अर्जुन चालिसेले बताउनु भयो । अग्यौली खानेपानी संस्थाले कावासोती नगरपालिकाको मुख्य डण्डा बजारसहित यहाँका १४, १५, १६ र १७ वडामा बसोवास गर्ने करिब तीन हजार ग्राहक उपभोक्ताले पिउने पानी उपलब्ध गराउँदै आएको उहाँले जानकारी दिनुभयो ।

भूमिगत जलस्रोतमा आधारित ओभरहेड मध्ये २ वटा सौर्यशक्तिबाट सञ्चालनमा रहेको संस्थाले जनाएको छ । २४ सै घण्टा डबल फिल्टर गरिएको पानी वितरण गरेको, पाँच युनिटभन्दा कम पानी उपभोग गर्ने ६ सय घरधुरीका उपभोक्तालाई न्यूनतम महसुल निःशुल्क गरेको, महिलाको नाममा धारा जडान गर्न आउने उपभोक्तालाई १५ प्रतिशत छुट गरिएको, चाडपर्वमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको कार्यवाहक अध्यक्ष श्रीपाइलीले बताउनुभयो ।

साधारण सभामा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक ई.रत्न लामिछाने, खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनका कार्यालय प्रमुख शेखर चन्द्र केसी लगायत सरकारी अधिकारीहरु पनि सहभागी हुनुहुन्थ्यो। सो क्रममा उपमहानिर्देशक लामिछानेको टोलीले चितवनमा निर्माणाधीन विभिन्न खानेपानी तथा सरसफाइ आयोजनाहरुको समेत अनुगमन गर्नु भएको छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार