रुकुम पश्चिम: सानीभेरी गाउँपालिका वडा नम्बर–१ मा रहेको चाइनाबगर टोललाई सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिएको छ। सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्न आवश्यक सबै मापदण्ड पूरा भएपछि सानीभेरी गाउँपालिकाकी उपाध्यक्ष कमला रोका पुनले चाइनाबगर टोललाई औपचारिक रूपमा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गर्नुभएको हो।
कार्यक्रममा बोल्दै उपाध्यक्ष रोकाले “सुरक्षित खानेपानी, स्वच्छ जिन्दगानी” भन्ने नारालाई व्यवहारमा उतार्न सफल भएको उल्लेख गर्दै स्थानीयवासीले घर–घरमै सुरक्षित खानेपानी प्रयोग गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। सुरक्षित खानेपानी पहुँच विस्तारमा सहयोग गर्ने युनिसेफ नेपाल, रुकुमेली समाज विकास केन्द्र रुकुम तथा सोसेक नेपाल दैलेखप्रति उहाँले धन्यवाद व्यक्त गर्नुभयो।
पालिकाको पहल र संघ–संस्थाको सहकार्यमा चाइनाबगर टोल जिल्लाकै पहिलो सुरक्षित खानेपानी युक्त समुदाय घोषणा भएको जनाउँदै उपाध्यक्ष रोकाले यस उपलब्धिमा स्थानीय समुदायको सक्रिय सहभागिता निर्णायक रहेको बताउनुभयो। चाइनाबगर टोलका ८० घरधुरी र चार वटा सार्वजनिक स्थान गरी जम्मा ८४ घरधुरीमा ‘एक घर, एक धारा’ अन्तर्गत सुरक्षित खानेपानीको पहुँच पुगेको छ।
समुदायलाई सुरक्षित खानेपानी युक्त घोषणा गर्नुअघि खानेपानी सुरक्षा योजना कार्यान्वयन, खानेपानीको गुणस्तर परीक्षण, प्रभावकारिता मूल्याङ्कन, उपभोक्ता समितिद्वारा स्व–घोषणा तथा स्वतन्त्र अनुगमन टोलीबाट अनुगमन र प्रमाणीकरण प्रक्रिया पूरा गरिएको थियो।
घोषणा कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि र संघ–संस्थाका प्रतिनिधिहरूले सुरक्षित खानेपानीको नियमित प्रयोग, फोहोरको वर्गीकरण, सुरक्षित शौचालयको प्रयोग र खेर जाने पानीको उचित व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गरेका छन्।
भूकम्प प्रभावित समुदायलाई प्राथमिकतामा राखेर ‘एक घर, एक धारा’ कार्यक्रम सञ्चालन गरिएको रुकुमेली समाज विकास केन्द्र रुकुमका कार्यकारी निर्देशक नरेन्द्र ओलीले जानकारी दिनुभयो। उहाँका अनुसार सानीभेरी गाउँपालिकाका ११ वडामध्ये १० वडामा सुरक्षित खानेपानी पहुँच विस्तारका काम सम्पन्न भइसकेका छन्। बाँकी वडाहरूमा पनि आवश्यक अनुगमनपछि सुरक्षित खानेपानी युक्त समुदाय घोषणा गरिने उहाँले बताउनुभयो।
किदुरुख साईरावन चाइनाबगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको आयोजनामा सम्पन्न कार्यक्रममा युनिसेफ नेपाल, सोसेक नेपाल दैलेख र रुकुमेली समाज विकास केन्द्र रुकुमको सहजीकरण रहेको थियो। वडा नम्बर–१ कार्यालयको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमला रोका पुन प्रमुख अतिथि रहनुभएको थियो भने वडा नम्बर–१ का अध्यक्ष टेकबहादुर पुन, प्रमुख प्रशासकीय अधिकृत नरविर खड्का, संघ–संस्थाका प्रतिनिधि तथा स्थानीयबासीको उल्लेख्य उपस्थिति रहेको थियो।


316 पटक हेरिएको 


