
खोटाङ : खोटाङको ऐसेलुखर्क गाउँपालिकामा २ वटा खानेपानी योजना एकै चोटी निर्माण हुने भएको छ । योजना निर्माणका लागि एक्सन फर नेपाल, गाउँपालिका र उपभोक्ता समिति बीच त्रिपक्षीय सम्झौता भएको गाउँपालिका अध्यक्ष गीरेन्द्रबहादुर राईले बताउनुभयो।
त्रिपक्षीय सम्झौता पत्रमा अध्यक्ष राई र प्रमुख प्रशाकीय अधिकृत, एक्सन फर नेपालका कार्यकारी प्रमुख लाक्पाछिरिङ शेर्पा र फाईनान्स कोअर्डिनेटर अजिला लिम्बु तथा उपभोक्ता समितिका तर्फबाट सम्बन्धित वडाध्यक्षहरुले हस्ताक्षर गर्नु भएको छ ।
ऐँसेलुखर्क २ र ७ नं। वडामा ‘एक्सन फर नेपाल’ नामक गैरसरकारी सँस्थाको झण्डै १ करोड आर्थिक सहयोगमा योजना निर्माण हुन लागेको हो ।
गाउँपालिकाको वडा नं. २ बाकाचोलमा लुबेरा–बादेल खानेपानी योजना तथा ७ को माक्पास्थित रोलुखोला–नोरुङ खानेपानी योजना सञ्चालन गर्न लाग्ने लागत मध्ये एक्सन फर नेपालले ९३ लाख ५५ हजार १ सय ४५ रुपैँया सहयोग गर्ने गरी सम्झौता भएको गाउँपालिकाले जनाएको छ ।
लुबेरा–बादेल योजनाका लागि १ करोड ३६ लाख ८४ हजार ७ सय ८५ को प्राविधिक इस्टीमेट भएको छ । त्यसैगरी रोलुखोला–नोरुङ खानेपानी योजनाका लागि ४२ लाख ७२ हजार ९ सय ५८ रुपैँयाको लागत अनुमान गरिएको छ । योजना चालु आर्थिक वर्ष २०८२/०८३ भित्रै सम्पन्न हुने गरी निर्माण गर्न लागिएको छ ।
सम्झौता पश्चात योजना छिटो निर्माण गर्न तीनैपक्ष आ आफ्नो क्षेत्रबाट सक्दो लागिपर्ने तथा तोकिएकै मितिभित्रै सम्पन्न गरेर उपभोक्तालाई स्व्चछ खानेपानी उपलब्ध गराउने प्रतिवद्धता समेत गरेका छन् ।
लुबेरा–बादेल योजनाका लागि गाउँपालिकाले ५० लाख ६० हजार १८ तथा उपभोक्ता समितिले १३ लाख ६८ हजार ४ सय ७८ बराबरको जनश्रमदान गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख छ । यसैगरि रोलुखोला–नोरुङ योजनामा गाउँपालिकाले १६ लाख ३९ हजार ९ सय ८१ र उपभोक्ताले ५ लाख ३४ हजार १ सय १९ रुपैँया बराबरको जनश्रमदान गर्नुपर्ने सम्झौता भएको छ ।
अध्यक्ष राईले खानेपानीको अभाव गाउँपालिकाका कसैलाई हुन नदिन आवश्यक बजेट विनियोजन गरेर अपुग स्रोतका लागि एक्सन फर नेपालसँग सहयोग लिने निर्णय गरेको बताउनुभयो । सबैलाई स्वच्छ खानेपानी सबैलाई उपलब्ध गराउने सरकारको नीति अनुसार १ घर, १ धारा कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै अध्यक्ष राईले आफु निर्वाचित भएर आएपछि ५० प्रतिशत उपभोक्ताले खानेपानी पाईसकेको बताउनुभयो ।
सिङ्गो गाउँपालिकाभरि ३ हजार ३ सय ५५ घरधुरी उपभोक्ता रहेकोमा ५० प्रतिशतले खानेपानी पाईसकेको बताउँदै उहाँले अब बाँकी उपभोक्ताको घरमा पनि छिट्टै स्वच्छ खानेपानी उपलब्ध गराउने गरी योजना अघि बढाइएको बताउनुभयो। लुबेरा–बादेल योजनाले बाकाचोलका १ सय ८६ घरधुरी सर्वसाधारण, सार्वजनिकस्थल गरी २ सय ४ सबैलाई खानेपानी व्यवस्था गर्नेछ । त्यसैगरि रोलुखोला–नोरुङ योजनालेमाक्पाका ४६ घरधुरी उपभोक्ता सहित सार्वजनिक स्थलहरुमा खानेपानी उपलब्ध हुने अध्यक्ष राईले बताउनुभयो।


224 पटक हेरिएको 

