प्रगतिनगर खानेपानीद्वारा मृतक राहत कोष अन्तर्गत दुई जना उपभोक्ताका परिवारलाई राहत वितरण

  वास खबर सम्बाददाता  271 पटक हेरिएको

नवलपरासी : नवलपरासीको देवचुली नगरपालिकामा रहेको प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले उपभोक्ता मृतक राहत कोषको सुरुवात गरेको छ । मृतक राहत कोष अन्तरगत मंगलबार दुई जना उपभोक्ताको परिवारलाई राहत रकम वितरण गरिएको छ । उपभोक्ता संस्थाको २८ औं साधारणसभाले संस्थाको उपभोक्ताहरु मध्ये कसैको परिवारको निधन भएमा उपभोक्ता मृतक राहत कोषबाट राहत उपलब्ध गराउने नीति पारित गरेको थियो ।

संस्थाले आफ्ना सदस्य ग्राहकको निधन भएको अवस्थामा परिवारलाई मृतक राहत रकम उपलब्ध गराउने कार्यको सुरुवात गरिएको अध्यक्ष डिल्लीराम कडरियाले जानकारी दिनुभयो । संस्थाले दुइ जना मृतकका परिवारलाई नगद ७ हजारका दरले राहत रकम हस्तान्तरण गरेको हो। सदस्यहरूको सामाजिक सुरक्षालाई ध्यानमा राख्दै आपसी सहयोगको भावना अनुसार मृतक राहत कोष सञ्चालन गरिएको अध्यक्ष कडरियाले बताउनुभयो।

उपभोक्ता संस्थाको ब्लक नं. २ का ग्राहक नं. २०१५४० स्व. लिलाकुमारी पन्थी तथा ब्लक नं. ४ का ग्राहक नं. २०२९१ स्व. शोभाकान्त खनालको केही समय अघि निधन भएको थियो । संस्थाका पदाधिकारीहरूको उपस्थितिमा हालै दिवंगत भएका सदस्यको घरमै पुगी परिवारलाई राहत रकम हस्तान्तरण गरिएको हो।

खानेपानी सेवा मात्र नभई सामाजिक उत्तरदायित्वलाई समेत प्राथमिकतामा राखेर संस्था अघि बढिरहेको संस्थाका सचिव विष्णुप्रसाद न्यौपानेले बताउनुभयो । राहत रकम प्राप्त गरेपछि मृतकका परिवारले संस्थाप्रति धन्यवाद व्यक्त गर्दै यस्ता सहयोगले दुःखको घडीमा केही भए पनि राहत मिल्ने बताउनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार