
काठमाडौ : मकवानपुरको कैलाश गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालित खानेपानी आयोजनाका संरचनाको बीमा गर्न थालेको छ। बाढी, पहिरो जस्ता प्राकृतिक विपद्का कारण खानेपानी संरचनामा क्षति पुगेमा तत्काल पुनःनिर्माण गर्न सकियोस् भन्ने उद्देश्यले बीमा प्रक्रिया सुरु गरिएको गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले बताउनुभयो।
अध्यक्ष मुक्तानका अनुसार खानेपानी संरचनाको दीगो संरक्षण र सेवा निरन्तरताका लागि नीति तथा कार्यक्रम र बजेटमै व्यवस्था गरेर बीमा गरिएको हो। “खानेपानी संरचना क्षतिग्रस्त हुँदा लामो समयसम्म सेवा अवरुद्ध हुने समस्या देखिँदै आएको छ,” उहाँले भन्नुभयो, “अब बीमा गरेपछि क्षति भएमा बीमाबाट प्राप्त हुने रकम प्रयोग गरी छिटो पुनःनिर्माण गर्न सकिन्छ।”
“वास प्रणाली सुदृढीकरण परियोजनाको सिकाई आदान प्रदान सम्बन्धी राष्ट्रिय कार्यशाला” मा भएको प्यानल छलफलमा कैलाश गाउँपालिकाका अध्यक्ष मुक्तानले खानेपानी संरचनाको बीमा गर्दा प्रिमियम रकम गाउँपालिकाले नै व्यहोर्दै आएको बताउनुभयो। यसले उपभोक्ता समितिहरूलाई आर्थिक बोझ नपर्ने र उनीहरू सेवा व्यवस्थापनमा केन्द्रित हुन सक्ने अवस्था सिर्जना गरेको उहाँको भनाइ थियो।

बीमाबाट विपद्पछि पुनःनिर्माण प्रक्रिया सहज हुने, सेवा अवरोधको अवधि घट्ने, स्थानीय सरकारको दायित्व स्पष्ट हुने र खानेपानी आयोजनाको दीगोपनामा सहयोग पुग्ने उहाँको भनाइ छ। “यो अभ्यासले जोखिम व्यवस्थापनलाई संस्थागत बनाउने र भविष्यमा अन्य सार्वजनिक संरचनामा समेत बीमा विस्तार गर्ने आधार तयार गर्छ,” अध्यक्ष मुक्तानले जोड दिनुभयो।
स्थानीय सरकारले सुरु गरेको यो पहलले विपद् जोखिम न्यूनीकरण गर्दै नागरिकको सुरक्षित खानेपानी पहुँच सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
Welt Hunger Hilfe (WHH) को साझेदारीमा ग्रामीण पुनःनिर्माण संस्था (RRN) ले नोभेम्बर सन् २०२२ देखि मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा पहाडी क्षेत्रमा वास प्रणाली सुदृढीकरण तथा व्यवहार परिवर्तन परियोजना कार्यान्वयन गरिरहेको छ ।
परियोजना अन्तर्गत २० वटा खानेपानी आपूर्ति प्रणाली निर्माण तथा पुनःस्थापना गरी ७२८ घरधुरीलाई मिटर सहित एक घर–एक धारा जडान गरी सुरक्षित रूपमा व्यवस्थापित खानेपानी सेवा उपलब्ध गराइएको नेपाल ग्रामीण पुननिर्माण संस्था (आर.आर.एन.) का कार्यक्रम प्रबन्धक निराजन पोखरेलले जानकारी गराउनुभयो ।

उहाँका अनुसार १०० वटा खानेपानी आपूर्ति प्रणालीमा जलवायु–उत्थानशील खानेपानी सुरक्षा योजना (CR-WSP) तयार गरिएको छ भने तीमध्ये २० वटा खानेपानी प्रणालीमा CR-WSP कार्यान्वयन गरी ५१२ घरधुरीलाई जलवायु–उत्थानशील संरचना मार्फत सुरक्षित रूपमा व्यवस्थापित खानेपानी सेवा प्रदान गरिएको छ।
परियोजना अन्तर्गत ५ वटा खानेपानी प्रणालीमा मुहान संरक्षण तथा सुधार कार्य गरिएको छ । जसले खानेपानीको स्रोत संरक्षण र दिगो उपयोगमा योगदान पुगेको छ ।
कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा आधार सर्वेक्षणका क्रममा ६८% घरपरिवारसँग पाइपलाइन खानेपानीको पहुँच नभएको र ३०% घरपरिवारसँग शौचालय सुविधा नभएको पाईएको कार्यक्रम प्रबन्धक पोखरेलले बताउनुभयो।



276 पटक हेरिएको 

