मुहानदेखि मुखसम्म सुरक्षित पानीबारे बर्दघाटमा समुदाय सचेतना

  प्रकाश न्यौपाने  301 पटक हेरिएको

नवलपरासी : बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी सुरक्षा योजना (Water Safety Plan) टोलीको आयोजनामा उपभोक्ताका लागि एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

सफा, सुरक्षित र दिगो खानेपानी उपभोगबारे उपभोक्तालाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष दीपक लम्सालले जानकारी दिनुभयो । उहाँका अनुसार पानीको चुहावट, आपूर्तिमा देखिने समस्या वा अन्य गुनासो देखिएमा तुरुन्त संस्थालाई जानकारी गराउन उपभोक्तालाई आग्रह गरिएको छ । “संस्थामा आउने गुनासो समाधानका लागि हामी निरन्तर सक्रिय छौं,” अध्यक्ष लम्सालले भन्नुभयो ।

कार्यक्रममा प्लास्टिकजन्य फोहोरले माटोको उर्वराशक्ति घटाउने र त्यसले दीर्घकालमा पानीका मुहानमा असर पार्ने विषयमा पनि छलफल गरिएको थियो । वृक्षारोपण र हरियाली प्रवर्द्धनमार्फत मात्रै मुहान संरक्षण सम्भव हुने अध्यक्ष लम्सालको भनाइ थियो ।

संस्थाको आयोजना क्षेत्रभित्र रहेका मर्चाघोला महिला विकास समूह र शिवमन्दिर भजन समूहका करिब ५५ जना आमा समूहका सदस्यलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा खानेपानीको स्वच्छता, सुरक्षा, स्रोत संरक्षण र वातावरणीय सरसफाइका विषयमा अन्तरक्रियात्मक छलफल गरिएको थियो ।

कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष कमल थापाले संस्थाको मूल लक्ष्य “मुहानदेखि मुखसम्म शुद्ध पानी” पुर्‍याउनु रहेको स्पष्ट पार्नुभयो । पानीको शुद्धता आँखाले हेरेर मात्रै मूल्यांकन गर्न नसकिने भन्दै उहाँले घरको धारामा कपडा नबाँध्न उपभोक्तालाई विशेष आग्रह गर्नुभयो । “भिजेको कपडामा हानिकारक जीवाणु बढ्न सक्छन्, जसले पानीलाई थप दूषित बनाउँछ,” थापाले भन्नुभयो । संस्थाले हाल ७ वटा मुहान प्रयोग गरी पानी वितरण गरिरहेको र २०६८ सालदेखि खानेपानी सुरक्षा योजना लागू गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

संस्थाका व्यवस्थापक विष्णु भुसालले वित्तीय तथा भौतिक प्रगतिबारे जानकारी दिँदै सुरुमा १ हजार धारा विस्तार गर्ने लक्ष्य राखिएकोमा हाल ग्राहक संख्या ४ हजार २ सय २४ पुगेको बताउनुभयो । उहाँका अनुसार संस्थाको मासिक आम्दानी करिब १४ लाख ५० हजार रुपैयाँ र खर्च १४ लाख रुपैयाँ रहेको छ भने स्थापनाकालदेखि हालसम्म करिब १५ करोड रुपैयाँ बराबरको पानी बिक्री भइसकेको छ ।

संस्थाका सचिव शोभाकान्त कोइरालाले ‘शून्य फोहोर अभियान’ सञ्चालन भइरहेको जानकारी दिँदै प्लास्टिकजन्य फोहोर घरमै व्यवस्थापन गर्न र घर वरपरको वातावरण सफा राख्न उपभोक्तालाई आग्रह गर्नुभयो ।

मर्चाघोला टोल विकास संस्थाका अध्यक्ष मंगल सार्कीले विपद्का बेला वैकल्पिक पानीको व्यवस्थापन र पानीको मितव्ययी प्रयोगबारे समुदायस्तरमै गम्भीर सोच आवश्यक रहेको धारणा राख्नुभयो । कार्यक्रममा संस्थाका निवर्तमान तथा पूर्व अध्यक्ष, सुरक्षा समिति, कार्यसमिति सदस्य, लेखा समिति, सल्लाहकार र कर्मचारीहरूको उपस्थिति रहेको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार