१५ महिनापछि तिमालमा खानेपानी सञ्चालन गर्ने तयारी, पाइप काट्ने र सडकले क्षति पुर्‍याउने क्रम अझै जारी

  वास खबर सम्बाददाता  290 पटक हेरिएको

काभ्रे : बाढीले ध्वस्त बनाएको तिमाल बृहत् खानेपानी आयोजना करिब १५ महिनापछि पुनः सञ्चालनको चरणमा पुगेको छ । २०८१ साल असोज ११, १२ र १३ गते परेको अविरल वर्षा र आएको बाढीले सुनकोशी नदी किनारमा बनाएको खानेपानी संरचनामा क्षति पुर्‍याएको थियो ।

बाढीपछिको पुनर्निर्माण कार्य सम्पन्न गरी मुख्य पाइपलाइनमार्फत सात स्टेज माथि रहेको याङबेलडाँडामा पानी लिफ्टिङ गर्न सफल भएपछि आयोजनाले घर–घरमा पानी वितरणको तयारी थालेको हो । केही दिनअघि याङबेलडाँडामा पानी परीक्षणसमेत सफल भएको आयोजनाले जनाएको छ ।

यसका लागि खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, रामेछाप र तिमाल बृहत् खानेपानी उपभोक्ता समितिले स्थानीय सरकार सहित सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेका छन् ।

खानेपानी तथा ढल व्यवस्थापन कार्यालय, रामेछापका प्रमुख राजेन्द्र श्रेष्ठले आयोजना ठूलो र संवेदनशील भएकाले अझै चुनौतीहरू कायमै रहेको बताउनुभयो । उहाँका अनुसार आयोजना क्षेत्रभित्र प्लटिङका क्रममा जथाभावी पाइप काटिने, अनुमति नलिई पाइपलाइन क्षति पुर्‍याइने तथा सडक निर्माण र विस्तारका क्रममा पाइपलाइन ठाउँ–ठाउँमा क्षतिग्रस्त हुने समस्या देखिएको छ ।

“यो तिमालकै खानेपानी आयोजना हो, हाम्रो साझा सम्पत्ति हो,” उहाँले स्थानीय सरकारलाई ध्यानाकर्षण गराउँदै भन्नुभयो, “नियन्त्रण र समन्वय गर्ने निकाय स्थानीय सरकार नै हो । वडास्तर र गाउँपालिकामा जानकारी नदिई सडक खन्ने र पाइपलाइन क्षति पुर्‍याउने कार्य रोकिनुपर्छ ।”

तेमाल गाउँपालिका वडा नं. १ का अध्यक्ष इन्द्र अधिकारीले वडाभित्र भएको क्षतिको जिम्मेवारी लिन आफू तयार रहेको बताउनुभयो । “यत्रो लगानी भइसकेपछि उपभोक्ताले धारामा पानी चुहावट हुन दिनु हुँदैन,” उहाँले भन्नुभयो, “यदि पानी पाउन गाग्री बोकेर तीन घण्टा हिँड्नुपर्छ भने एक रुपैयाँको ठाउँमा पाँच रुपैयाँ तिर्न पनि जनता तयार छन् ।”

तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्रबहादुर लामाले आयोजनामा भएको क्षतिको यथार्थ विवरण संकलन गरेर जिम्मेवार पक्ष पहिचान गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । “बजेट कार्यान्वयनकै क्रममा पनि क्षति भएको देखिन्छ,” उहाँले भन्नुभयो, “लापरबाही नगरी क्षतिको विवरण निकालौं र कसैलाई दोष नलगाई खानेपानी सुचारु गर्ने दिशामा अघि बढौं ।”

गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले आयोजना लामो समयसम्म अल्झिन नहुने स्पष्ट पार्नुभयो । “अब १५ दिनभित्रै कसले के गर्ने भन्ने स्पष्ट सम्झौता गरौं,” उहाँले भन्नुभयो, “यदि जनशक्ति अभाव छ भने तराई वा हिमाल जहाँबाट सम्भव हुन्छ, त्यहाँबाट ल्याऔं । २०/५० लाख रुपैयाँ लगानी गरेर यहाँका जनताले पानी पिउन पाउँछन् भने तत्काल लगानी गरिनुपर्छ ।”

बाढीपछिका दिनहरूमा विभिन्न विकल्प र प्रयासहरू गरिँदै आएकोमा मुख्य पाइपलाइनमार्फत पानी लिफ्टिङ सफल भएपछि आयोजनाले पुनः गति लिएको छ । अब बाँकी संरचनाको मर्मत, पाइपलाइन संरक्षण र नियमित सञ्चालनका लागि स्थानीय सरकार, उपभोक्ता समिति र निर्माण व्यवसायीबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाहरूले जोड दिएका छन् ।

आयोजना सुरक्षित र दिगो रूपमा सञ्चालन हुन सके तिमाल क्षेत्रका बासिन्दाले सुरक्षित र भरपर्दो खानेपानी सेवा पाउने विश्वास गरिएको छ ।

तेमाल बृहत खानेपानी आयोजना, काभ्रेको तेमाल गाउँपालिकाको ९ वटै वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ नम्बर वडा, तथा रोशी गाउँपालिकाको वडा नं. ७ का केही बस्ती गरी ९ हजारभन्दा बढी घरपरिवारका करिब ५५ हजार जनसंख्यालाई सुरक्षित खानेपानी उपलब्ध गराउने उद्देश्यले निर्माण भएको आयोजना हो ।

निर्माण सम्पन्न भएपछि सबै उपभोक्ताको घरघरसम्म खानेपानी राम्रो सँग पुर्‍याउन नपाउँदै २०८१ साल असोज ११, १२ र १३ गते परेको अविरल वर्षा र आएको बाढीले सुनकोशी नदी किनारमा बनाएको संरचनामा क्षति पुर्‍याएपछि खानेपानी सेवा अवरुद्ध भएको थियो ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार