
सप्तरी : सप्तरीको बकधुवा, जण्डौलमा अवस्थित ठाकुरजी माध्यमिक विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) सम्बन्धी संरचनाहरूको मर्मत–सम्भार, पुनर्निर्माण र नयाँ निर्माण कार्य सम्पन्न गरी हस्तान्तरण गरिएको छ।
नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ (EDCU) द्वारा जारी विद्यालय WASH कार्यविधि–२०७४ अनुसार तीन तारा WASH मापदण्ड अनुसार कार्यान्वयन गरिएको यस परियोजनामा कुल ३ युनिट हात धुने स्टेशन, २ युनिट खानेपानी वितरण स्टेशन, २ युनिट पानी ट्यांकी (प्रत्येक २००० लिटर), १ युनिट बायो–स्यान्ड फिल्टर (१६० लिटर/घण्टा), १ ब्लक नयाँ युरिनल, ४ युनिट शौचालय मर्मत, १ युनिट नयाँ शौचालय (४ शौचालय र ३ युरिनल), ३ युनिट युरिनल मर्मत/पुनर्निर्माण, १ युनिट सेप्टिक ट्यांकी र ४ युनिट सोख पिट निर्माण गरी बिद्यालयलाई हस्तान्तरण गरिएको हो।

अग्निसाइर कृष्णासवरण गाउँपालिका र वेल्टहंगर हिल्फे (Welthungerhilfe) को सहकार्यमा महुली सामुदायिक विकास केन्द्र, सप्तरीद्वारा सञ्चालित “Up-Scaling WASH System Strengthening Approach in the Terai Region of Nepal” परियोजना अन्तर्गत ती वास पूर्वाधार निर्माण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा पूर्व गाउँपालिका अध्यक्ष परशुराम चौधरीले तीन तारा WASH मापदण्ड अनुसार विद्यालयस्तरमा पूर्वाधार विकास गर्नु बालबालिकाको स्वास्थ्य संरक्षण, स्वच्छ शैक्षिक वातावरण निर्माण र गुणस्तरीय शिक्षाको सुदृढ आधार भएको उल्लेख गर्नुभयो। गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद यादवले संरचनाहरूको संरक्षण, सञ्चालन र नियमित मर्मत–सम्भार विद्यालय, अभिभावक तथा समुदायको साझा दायित्व हुनेमा जोड दिनुभयो।

हस्तान्तरण कार्यक्रममा महुली सामुदायिक विकास केन्द्रका कार्यकारी निर्देशक प्रभु नारायण चौधरीले परियोजना मार्फत अन्य विद्यालयहरूमा समेत तीन तारा WASH मापदण्ड अनुसार संरचनाहरू विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो।
गाउँपालिका कार्यबाहक अध्यक्ष कल्पना चौधरीले उक्त पहलले बालबालिकाको समग्र विकासमा दीर्घकालीन सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा परियोजनाका इन्जिनियर ओम प्रकाश पण्डितले यस हस्तान्तरणले विद्यालयमा सुरक्षित पानी, बालमैत्री शौचालय, नियमित हात धुने संरचना र फोहोर व्यवस्थापनको दिगो प्रणाली स्थापना गर्दै दीर्घकालीन शैक्षिक र स्वास्थ्य लाभ सुनिश्चित गरेको बताउनुभयो।

बाल क्लबकी अध्यक्ष बन्दना चौधरीले भन्नुभयो “हामी विद्यार्थीहरूले अब स्वच्छता र स्वास्थ्यप्रति सजग भई दैनिक जीवनमा अभ्यास गर्न सक्नेछौं। विद्यालयमा यस्ता पूर्वाधार आएपछि हाम्रो सिकाइ वातावरण अझ सुरक्षित र स्वस्थ भएको छ।”



374 पटक हेरिएको 

