कर्णालीका २८ वटा स्थानीय तहमा खानेपानी परिक्षण शिविर सञ्चालन हुँदै

  वास खबर सम्बाददाता  360 पटक हेरिएको

सुर्खेत : कर्णाली प्रदेशका २८ वटा स्थानीय तहमा खानेपानीको गुणस्तर परीक्षण कार्य सुरु हुँदैछ । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना सञ्चालित कर्णालीका २८ वटै पालिकामा निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर सुरु गरिएको हो।

गाउँपालिका भित्रका खानेपानी योजनाहरूको पानीको गुणस्तर परीक्षण गरी प्राप्त तथ्यांकको प्रयोगले खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरू तथा आम खानेपानी प्रयोगकर्तालाइ जोखिमबारे चेतना बढाउने, छलफललाई प्रवर्द्धन गर्ने तथा खानेपानी स्रोतको सुरक्षा, सञ्चालन, व्यवस्थापन तथा नियमितता प्रति सरोकारवालाहरुलाई उत्तरदायी बनाउने उद्देश्यले शिविर सञ्चालन गरिएको सुस्वा आयोजनाका सुशासन विज्ञ निराजन श्रेष्ठले बताउनुभयो ।

निःशुल्क खानेपानी गुणस्तर परीक्षण शिविर अन्तर्गत सल्यानको छत्रेश्वरी गाउँपालिकाले पनि पहिलो पटक पालिकामै खानेपानी गुणस्तर परीक्षण सुरु गरिएको छ । गाउँपालिकाभर सञ्चालनमा रहेका खानेपानी आयोजना तथा सातवटै वडाका अन्य खानेपानी स्रोतको गुणस्तर परीक्षण गर्न आगामी आइतबारदेखि निःशुल्क शिविर आयोजना गरिने गाउँपालिकाले जनाएको छ ।

आइतबारदेखि शुक्रबारसम्म ६ दिन सञ्चालन हुने शिविरका लागि गाउँपालिकामै पानी परीक्षणको मिनि ल्याब स्थापना गरिएको छ । छत्रेश्वरी गाउँपालिकाका वास संयोजक निमराज केसीका अनुसार यस वर्षदेखि नागरिकको पहुँच सहज बनाउन पालिकामै परीक्षण गर्ने व्यवस्था गरिएको हो । गत वर्ष भने चारवटा खानेपानी आयोजनाको पानीको नमुना काठमाडौँ पठाएर परीक्षण गरिएको थियो ।

वास संयोजक केसीका अनुसार शिविरमा पिएच, टर्बिडिटी, इ–कोली, टिडिएस, एफआरसी तथा इलेक्ट्रिकल कन्डक्टिभिटी जस्ता भौतिक, रासायनिक र जीवाणुजन्य सूचकको परीक्षण गरिनेछ । परीक्षणका लागि खटिने वास युनिटका कर्मचारीले आवश्यक तालिम समेत प्राप्त गरिसकेका छन् ।

गाउँपालिकाले उपभोक्ता समिति र नागरिकलाई पानीको नमुना संकलन गर्दा विशेष ध्यान दिन आग्रह गरेको छ । नमुना संकलन गर्नुअघि साबुन पानीले हात राम्ररी धुनुपर्ने, खानेपानीको मुहान, पानी ट्यांकी, धारा र पानी भर्ने भाँडो गरी चारवटै स्थानबाट छुट्टाछुट्टै बोतलमा पानी संकलन गर्नुपर्ने तथा नमुना संकलन गरेपछि ६ घण्टाभित्र पालिकाको ल्याबमा ल्याउनुपर्ने गाउँपालिकाको अनुरोध छ ।

पालिकावासीले प्रयोग गर्दै आएको पानीको नियमित गुणस्तर परीक्षण गर्दै सुरक्षित खानेपानीको सुनिश्चितता गर्न गाउँपालिकाले विभिन्न साझेदार निकायसँग समन्वय गर्दै काम गरिरहेको छत्रेश्वरी गाउँपालिकाले जनाएको छ । स्वस्थ जीवन बाँच्न पाउने नागरिकको अधिकार सुनिश्चित गर्न खानेपानीको गुणस्तरमा विशेष जोड दिइएको गाउँपालिकाको भनाइ छ ।

सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रम लागू भएका पालिकामा सुरक्षित र शुद्ध खानेपानी उपलब्ध गराउन इनलाइन क्लोरिनेशन प्रणाली जडान गरिएका खानेपानी आयोजनाहरू सञ्चालनमा रहेका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार