भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो प्याकेज अघि बढ्यो

  वास खबर सम्बाददाता  365 पटक हेरिएको

वीरेन्द्रनगर : कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर उपत्यकामा दीर्घकालीन खानेपानी आपूर्ति सुनिश्चित गर्ने उद्देश्यले अघि बढाइएको भेरी लिफ्ट खानेपानी आयोजनाको दोस्रो प्याकेज कार्यान्वयन तर्फ अघि बढेको छ।

आयोजनाको दोस्रो प्याकेजका लागि अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक खरिद प्रक्रिया बाट सिलबन्दी बोलपत्र आह्वान गरिएको भेरी लिफ्ट खानेपानी आयोजना प्रमुख सञ्जीवकुमार शाहले जानकारी दिनुभयो। उहाँका अनुसार दोस्रो प्याकेजको ग्लोबल टेन्डर खुलासँगै आयोजनाको कामले थप गति लिने अपेक्षा गरिएको छ।

खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना अन्तर्गत सञ्चालित वीरेन्द्रनगर आयोजना एकाई कार्यालयले प्याकेज–२ का लागि बोलपत्र आह्वान गरेको हो। यसअघि, २०८१ भदौ १३ गते आयोजना एकाई कार्यालय सुर्खेतले पहिलो चरणको कामका लागि चिनियाँ कम्पनी सिञ्ज्याङ टर्म्स इन्टरनेसनल इकोनोमी एण्ड टेक्निकल को-अपरेसन कम्पनीसँग सम्झौता गरेको थियो। आगामी तीन वर्षभित्र भेरी नदीको पानी वीरेन्द्रनगर ल्याउने लक्ष्यसहित करिब ३ अर्ब ५० करोड रुपैयाँ लागतमा सम्झौता भई निर्माण कार्य अघि बढेको आयोजना प्रमुख शाहले जानकारी दिनुभयो।

नेपाल सरकारले विश्व बैंकको वित्तीय सहयोगमा खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग परियोजनाअन्तर्गत कार्यान्वयन गरिरहेको यस आयोजनाले वीरेन्द्रनगरका करिब पाँच लाख स्थानीयलाई सुरक्षित खानेपानी सुविधा पुर्‍याउने लक्ष्य लिएको छ।

प्याकेज–२ अन्तर्गत ८०० किलोमिटर लम्बाइको पानी वितरण लाइन निर्माण, झुप्रामा रहेको खानेपानी शुद्धीकरण प्रणालीको स्तरोन्नति, झुप्रा, खरिखोला, बोरिखोला र इत्रामस्थित इन्टेक संरचनाको स्तरोन्नति तथा झुप्रा, खरिखोला–बोरिखोला र इत्रामबाट ट्रान्समिसन लाइन जडान गर्ने कार्य समावेश गरिएको छ।

यस्तै, इत्राम क्षेत्रमा १ हजार ५ सय घनमिटर क्षमताको ट्यांकी निर्माण तथा स्वचालित डाटा संकलन प्रणाली जडान समेत दोस्रो प्याकेजअन्तर्गत निर्माण गरिने आयोजना प्रमुख शाहले बताउनुभयो।

उहाँका अनुसार पहिलो चरणमा संरचना निर्माणको काम अघि बढिसकेको छ। आयोजना स्थलमा रहेका चार सामुदायिक वनमध्ये दुईवटामा रुख कटान सम्पन्न भइसकेको छ भने बाँकी दुई सामुदायिक वनमा पनि रुख कटानको काम जारी रहेको छ। सामुदायिक वन क्षेत्रमा करिब सात किलोमिटर पाइप लाइन बिछ्याउन छिट्टै रुख कटान सुरु गरिने उहाँले जानकारी दिनुभयो।

आयोजनाको मुहान क्षेत्रमा इन्टेक तथा पानी शुद्धीकरण हुने स्थानमा संरचना निर्माण सुरु हुन लागेको र मुख्य प्रसारण लाइनअन्तर्गत अमृत डाँडामा तीनवटा मुख्य ट्यांकी निर्माणको काम पनि सुरु भएको आयोजना प्रमुख शाहले बताउनुभयो। साथै, आयोजनाको मुहानसम्म पुग्ने पहुँचमार्ग निर्माणको कामसमेत अघि बढाइने तयारी भइरहेको उहाँको भनाइ छ।

पानी वितरणका लागि आवश्यक ३४ किलोमिटर पाइप लाइनमध्ये हालसम्म २३ किलोमिटरको ठेक्का लागिसकेको र १२ किलोमिटर पाइप लाइन विस्तारको काम सम्पन्न भइसकेको छ। प्रदेश राजधानीमा तीव्र रूपमा बढ्दो जनघनत्वलाई मध्यनजर गर्दै दीर्घकालीन समाधानका लागि यो आयोजना अघि बढाइएको हो।

हाल वीरेन्द्रनगरमा भूमिगत पानी तथा साना खानेपानी आयोजनामार्फत पानी आपूर्ति भइरहेको छ। तीन तहका सरकारको संयुक्त पहलमा यो आयोजना सुरु गरिएको हो। तत्कालीन जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले प्रदेश सरकारको लगानी सुनिश्चित गर्न पहिलो पटक हस्ताक्षर गर्दै विश्व बैंकको वित्तीय सहयोग ल्याउन पहल गर्नुभएको थियो।

सोही समयमा सल्यानको सदरमुकाम र सुर्खेतको वीरेन्द्रनगरमा खानेपानी आयोजना निर्माणका लागि प्रदेश सरकारको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले सहमति दिएको थियो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार