
सल्यान : सल्यानको कुमाख गाउँपालिका–२ र ६ का खानेपानीको मुहानमा दिसामा पाइने सुक्ष्म जीवाणु कोलिफर्म भेटिएको छ ।पालिकामा संचालित दीगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाले सञ्चालन गरेको खानेपानी परिक्षण शिविरमा खानेपानी मुहानको पानी परीक्षण गर्दा ११ वटा मुहानको पानीमा कोलिफर्म भेटिएको हो ।
सात वटा प्रमुख प्यारामिटरको आधारमा स्वच्छता परियोजनाले पालिका भरिका ८३ वटा खानेपानी योजनाका मुहानको पानी परीक्षण गरेको थियो । यी ११ मुहानबाट वडा–२ र ६ का विभिन्न बस्तीका ३ सय बढीले परिवारले पानी प्रयोग गर्दै आएका छन् ।
कोलिफर्म नामक जिवाणुले झाडापखाला, हैजा जस्ता रोगको जोखिम हुने भएकाले सम्बन्धित स्थानमा खानेपानी शुद्धीकरणका लागि पालिका र स्वच्छता परियोजनाले सचेतनामूलक कार्यक्रम गर्ने तयारी गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिप कुमार सोनीले बताउनुभयो।
अझै पनि केही ठाउँमा खुला दिसापिसाब गर्न नछाडेकै कारण बस्ती आसपासका जंगलमा तथा खोल्साखाल्सीमा रहेका मुहानमा कोलिफर्म देखिएको पालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख जीवन शर्माले बताउनुभयो। कोलिफर्म जीवाणुरहित तथा शुद्ध पानीको लागि मुहान संरक्षण लगायतका कार्यक्रम गरिने उहाँले बताउनुभयो।


222 पटक हेरिएको 

