१४ किलोमिटर टाढाबाट खानेपानी ढुवानी गर्नुपर्ने बाध्यता

  वास खबर सम्बाददाता  278 पटक हेरिएको
🔗
24
Shares

मुस्ताङ : उपल्लो मुस्ताङको कोरला नाकास्थित दसगजा क्षेत्रमा ब्यापार लोमान्थाङ गाउँपालिका-२, छोसेरकी कुन्जङ वाङमो गुरूङले आवश्यक पर्ने खानेपानी नेचुङबाट लैजानुहुन्छ ।

कोरला नाकाबाट करिब १४ किलोमिटर तल रहेको मुस्ताङ भन्सार कार्यालयबाट सवारीसाधनमा पानी ढुवानी गर्न २० देखि ४० लिटरको भाडा २ सयदेखि ३ सय रूपियाँ तिर्नुहुन्छ । मध्य पुस महिनाको माइनस तापक्रममा पनि कोरला नाकामा आउने नेपाली व्यवसायी, चालक, मजदुरलाई सामान बेच्ने गर्नुभएका स्थानीय टेन्ट ब्यवसाय समितिको सदस्य खावा सेरिङ गुरूङले समेत कोरला नाकामा सामान ढुवानी गर्न आउने ट्रकमा पानी ढुवानी गर्नुहुन्छ ।

कोरला नाकामा व्यवसाय गर्ने स्थानीयलाई खानेपानीको अभाव भएपछि नजिकै रहेको चीनको स्वशासित क्षेत्र तिब्बत क्षेत्रमा पर्ने लिजी भन्सार कार्यालयबाट चिनियाँ अधिकारीले खानेपानीको पाइपबाट समेत पानी उपलब्ध गराउने गरेका छन् । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्रमा रहेका ५० भन्दा बढी स्थानीय ब्यवसायीले नियमित खानेपानीको अभाव झल्दै आएका छन् । युवा व्यवसायी पेमा छिरिङ गुरूङले भन्नुहुन्छ, ‘‘खानेपानीका लागि पनि चिनियाँको भर पर्नुपर्ने बाध्यता छ, तल गाउँबाट ढुवानी झन्झटिलो छ ।’’

कोरला नाकामा ब्यवसाय गर्ने ५० टेन्टका करिब १ सय ५२ जनासहित समान ढुवानी गर्न आउने चालक, मजदुर र पर्यटक सहित सिजनमा दैनिक १ हजारभन्दा बढीलाई आवश्यक पर्ने खानेपानीसँगै शौचालयको समेत अभावले चुनौती बढेको स्थानीय विद्यतुीय सवारीसाधन चालक व्यवस्थापन समितिका अध्यक्ष घरचिङ गुरूङको भनाइ छ । कोरला नाकामा खानेपानी, फोहोर व्यवस्थापन र शौचालयको अभावका कारण स्थानीय व्यवसायीसहित पर्यटकलाई समस्या भएकाले तत्काल ब्यवस्थापन गर्नुपर्ने चालक गुरूङले बताउनुभयो ।

गुरूङ भन्नुहुन्छ, ‘‘एउटा पनि शौचालय छैन, अस्थायी शौचालयलाई हवाहुरीबाट जोगाउनै सास्ती हुन्छ ।’’ कोरला घुम्न जाने पर्यटकले सार्वजनिक स्थानलाई शौचालयको रुपमा प्रयोग गर्नुपर्ने बाध्यता रहेको छ । विशेष आर्थिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययनका लागि जानुभएका ओजा इन्जिनियरिङ प्रालिका इन्जिनियर रोशन सापकोटाले सरकारी संरचनाभन्दा पहिला खानेपानी, शौचालय र फोहोर ब्यवस्थापनका लागि तत्काल काम गर्नुपर्ने देखिएको बताउनुभयो ।

इन्जिनियर सापकोटा भन्नुहुन्छ,‘‘जाडोयाममा पानी जमेर बरफ हुदाँ त्यहाँ निकै सास्ती हुन्छ,चिनियाँ प्रहरीलाई ट्यांकरमा पानी माग्नुपर्ने बाध्यता छ ।’’ सीमापारीबाट नियमित खानेपानी माग्न समस्या हुने गरेको छ ।

पर्यटकको सिजनमा एकैदिन पाँचहजारसम्म स्वदेशी पर्यटक पुग्ने गरेको कोरला नाका क्षेत्रमा दुर्गन्ध फैलिने जोखिमलाई समेत मध्यनजर गरी अस्थायी र स्थायी प्रकृतिका शौचालय र खानेपानीको स्रोत व्यवस्थापनको सुझाव समेत स्थानीय जनप्रतिनिधिलाई प्राविधिक टोलीले दिएको छ ।

कोरला नाकामा सुरक्षा निकाय र आपत्कालीन आश्रयका लागि कोरलामा बनाएको १० कोठे प्रिफेक प्रविधिको अस्थायी संरचनाको भवन बाहेक अन्य सरकारी संरचना समेत नभएकाले आधारभुत आवश्यकता पूरा नभएको स्थनीय ब्यवसायीको भनाइ छ । सरकारी निकायबाट समन्वयकारी भूमिका भएमा चिनियाँ क्षेत्रबाट पाइप विस्तार गरी नियमित खानेपानी  ल्याउन सकिने अवस्था रहेको स्थानीय ब्यवसायी कुन्साङ गुरूङले बताउनुभयो । यो खबर गोरखापत्रले प्रकाशन गरेको छ।

समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला क्षेत्रमा रहेको ६ सय रोपनी क्षेत्रफल रहेको छ । सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बतका खम्पाहरू नेपाली भूमि प्रयोग गरेर विद्रोह गरेपछि रोकिएकोमा वि.स २०८० कात्तिक २७ देखि औपचारिक उद्घाटन भएको नाका चालु आर्थिक वर्ष २०८२-०८३ भदौ महिनाको ३० गतेदेखि व्यवसायीक रुपमा सञ्चालनमा आएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार