
ललितपुर : वाटर एड नेपालका कन्ट्री डाइरेक्टर सुदर्शन न्यौपानेले जलवायु परिवर्तनको असरले हुने क्षतिबाट खानेपानी तथा सरसफाइका संरचनाहरुलाई पुनःस्थापना गर्न अनिवार्य बीमा गर्नुपर्ने बताउनु भएको छ । कन्ट्री डाइरेक्टर न्यौपानेले नेपाल जलवायु परिवर्तनको असरबाट अछुतो नरहेको उल्लेख गदै जलवायु परिवर्तनका कारण हुने जोखिमबाट जोगाउन र त्यसपछिको पुनःस्थापनालाई प्रभावकारी बनाउन खानेपानी संरचनाको बीमा अब अनिवार्य बन्दै गएको बताउनुभयो ।
वास खबर सँग कुराकानी गर्दै उहाँले ललितपुरको गोदावरी नगरपालिका स्थित कालिटार खानेपानी आयोजनाका संरचनाहरुको बीमा गरिएको हुँदा गत सालको बाढी र पहिरोबाट क्षति पुगे पनि पुनःस्थापना प्रक्रिया सहज र छिटो सम्भव भएको बताउनुभयो।
“जलवायु परिवर्तनको संकटासन्न समुदायमा काम गर्ने क्रममा बाढीका कारण खानेपानी संरचनामा क्षति पुगेका उदाहरणहरू प्रशस्तै छन्” उहाँले भन्नुभयो “जलवायु परिवर्तनका कारण बारम्बार आउने बाढी, पहिरो जस्ता जोखिमले वास संरचनालाई ठूलो चुनौती दिइरहेका छन् ।”
जलवायु परिवर्तनको जोखिमलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयलाई वाटर एडले आफ्ना सबै कार्यक्रमको अभिन्न अंगका रूपमा अघि बढाइरहेको उहाँको भनाइ छ । दीर्घकालीन रूपमा वास संरचना सञ्चालनका लागि समुदायको स्वामित्व, स्थानीय नेतृत्वको भूमिका र संस्थागत क्षमतामा सवलीकरण अत्यन्तै महत्वपूर्ण हुने कन्ट्री डाइरेक्टर न्यौपानेले स्पष्ट पार्नुभयो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूलाई एकीकृत गर्दै उनीहरूको संस्थागत क्षमता अभिवृद्धि गर्न सके दिगोपनाको आधार बलियो हुने उहाँको भनाइ छ । वाटर एड नेपालले एकीकृत शहरी विकास केन्द्रको सहकार्यमा ललितपुरको डुकुछाप दिगो खानेपानी तथा सरसफाइ आयोजनामा यही अवधारणा अवलम्बन गरिएको उहाँले बताउनुभयो। “खानेपानी सेवाको दिगोपनाका लागि महसुल संकलन अनिवार्य छ । यसका लागि व्यवसायिक योजना हुनुपर्छ । व्यवसायिक योजना स्थानीय वस्तुस्थिति र उपभोक्ताको आम्दानी स्तरलाई समेत ध्यानमा राखेर निर्धारण गर्नुपर्छ, हामीले यसमा जोड दिँदै आएका छौं” उहाँले भन्नुभयो।
वाटर एड नेपालले सञ्चालन गर्ने कार्यक्रमहरू मार्फत ललितपुरको गोदावरी नगरपालिकामा सुरक्षित, समावेशी र जलवायु उत्थानशील वास सेवाको आधार तयार हुँदै गएको उल्लेख गर्दै न्यौपानेले भन्नुभयो “भविष्यमा पनि स्थानीय सरकार र समुदायसँग सहकार्य गर्दै जलवायु जोखिम न्यूनीकरण र दिगो खानेपानी, सरसफाइ र स्वच्छता सेवाका लागि अझ प्रभावकारी ढंगले काम गर्नुपर्नेछ।”
वाटर एड नेपालले आफ्नो कन्ट्री स्ट्राटेजी (२०२३ – २०२७) अनुसार सबैका लागि, सधैँका लागि, दीर्घकालीन खानेपानी, सरसफाइ र स्वच्छता सेवामा सार्वभौमिक पहुँच सुनिश्चित गर्ने लक्ष्य अनुसार देशका विभिन्न नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छताको दिगोपनामा जोड दिर्दै कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।


385 पटक हेरिएको 

