खानेपानी परीक्षणका लागि प्रशिक्षक तयार गर्दै कर्णाली प्रदेश सरकार

  गोविन्द खत्री  498 पटक हेरिएको


सुर्खेत : कर्णाली प्रदेशका विभिन्न स्थानीय तह र जिल्ला स्थित कार्यालयका प्रतिनिधिहरुलाई खानेपानी गुणस्तर सम्बन्धी स्रोत व्यक्तिका रुपमा प्रशिक्षण दिइएको छ ।

कर्णाली प्रदेश सरकारको जलस्रोत तथा उर्जा विकास मन्त्रालयले युनिसेफको सहयोगमा स्रोत व्यक्तिहरुका लागि चार दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो । पुस १६ गतेदेखि सुरु भएको तालिम आज आइतबार सम्पन्न भएको छ ।

तालिममा जिल्ला स्थित कार्यालय खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालय, स्वास्थ्य कार्यालय र कालिकोट, सुर्खेत, जाजरकोट, दैलेख लगायतबाट विभिन्न स्थानीय तह खानेपानी उपभोक्ता संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिमका सहभागीहरुले आ आफ्नो पालिका तथा जिल्लामा गएर खानेपानीको गुणस्तर मापन गर्नका लागि तालिम सञ्चालन गर्ने मन्त्रालयका योजना शाखा प्रमुख इन्जिनियर सागर आचार्यले जानकारी दिनुभयो । इन्जिनियर शर्माका अनुसार जिल्ला स्थित कार्यालयहरुमा खानेपानीको परिक्षण गर्नका लागि वाटर टेष्ट कीट उपलब्ध गराइएको छ ।

तर परीक्षण गर्ने परिपाटी कम भएकाले तालिम दिइएको इन्जिनियर शर्माले जानकारी दिनुभयो । कर्णाली प्रदेशमा सुरक्षित पिउने पानीको पहुँच करिब ४ प्रतिशत जनसंख्यामा मात्रै पुगेको तथ्या‌क छ ।

मन्त्रालयका खानेपानी सरसफाइ फोकल पर्सन कमला खानले भने तथ्या‌कको उचित व्यवस्थापन नहुँदा सुरक्षित पानीको पहुँच पुगेको जनसंख्या कम प्रतिशत देखिएको बताउनुभयो। उहाँले करिब २० प्रतिशत जनसंख्यामा सुरक्षित खानेपानी सुविधा पुगेको दाबी गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार