बागचौरमा साढे दुई सय खानेपानीको नमुना परिक्षण, २३ वटा योजनाको पानी सुरक्षित

  वास खबर समाचारदाता  287 पटक हेरिएको

सल्यान : सल्यानको बागचौर नगरपालिकाको १०३ वटा खानेपानीको ट्यांकी तथा घरभित्रको पानीका १४७ गरी २५० वटा नमुना परीक्षण गर्दा अधिकांश खानेपानीमा सुक्ष्म जीवाणु कोलिफर्म भेटिएको छ।

सबैका लागि खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाले सञ्चालन गरेको दुईदिने खानेपानी गुणस्तर परीक्षण शिबिरमा संकलित उक्त खानेपानीको नमुनामा कोलिफर्म भेटिएको वास इकाइ संयोजक बीरेन्द्र जोशीले जानकारी दिनुभयो।

उहाँका अनुसार ६३ वटा खानेपानी योजनाको पानीमा कोलिफर्म देखिएको छ भने २३ वटा योजनाको पानी सुरक्षित पाइएको छ। शिविरमा एउटै खानेपानी योजनाको विभिन्न ट्याङ्की तथा फरक फरक उपभोक्ताको धारा तथा घरभित्र भण्डारण गरिएको पानीको परिक्षण गरिएको थियो।

खुला चरिचरन, खुला शौच र फोहोर व्यवस्थापनको कमीका कारण पानीको स्रोत प्रदूषित हुने गरेको बताइएको छ।

कोलिफर्म भेटिएका क्षेत्रका उपभोक्तालाई सतर्कता अपनाउन नगरपालिकाले आग्रह गरेको छ। पानी उमाल्ने, फिल्टर गर्ने, क्लोरिन प्रयोग गर्ने जस्ता शुद्धिकरण विधि अपनाउन सुझाव दिइएको छ।

साथै इनलाइन क्लोरिनेशन प्रणाली प्रभावकारी देखिएको भन्दै मुहान संरक्षण र प्रदूषण नियन्त्रणमा सबैको ध्यान आवश्यक रहेको वास इकाइ संयोजक जोशीले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार