
सल्यान : कालीमाटी गाउँपालिका–१ लक्ष्मीपुरस्थित कोट बयाले लिफ्ट खानेपानी योजना निर्माण सुरु भएको ५ वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन। एक वर्षमै सम्पन्न गर्ने गरी २०७७ सालमा निर्माण सुरु भएको योजना ठेकेदारको ढिलाईका कारण अहिलेसम्म सम्पन्न हुन नसकेको हो।
खानेपानी योजना सम्पन्न नहुँदा कालीमाटी–१ लक्ष्मीपुरका पोखरा, धुम्के, बयाले आरुचौर र कोटका बासिन्दालाई सास्ती भएको छ। घरघरमा खानेपानी पुर्याउने उद्देश्यका साथ निर्माण सुरु भएको योजनामा ठेकेदारले ढिलासुस्ती गरेपछि स्थानीय खानेपानीका लागि एक घन्टासम्म हिँडेर मुहान, कुवा धाउन बाध्य छन्। यो योजना निर्माण पूरा नहुँदा ५ वटा बस्तीका २ सय ६९ परिवार र विद्यालयमा अध्ययनरत बालबालिका प्रभावित भएका छन्।
बाह्रै महिना खानेपानीको चरम अभाव भएको विभिन्न बस्तीको घरघरमा पानी पुर्याउन सरकारले २०७७ मा १ करोड बजेट विनियोजन गरि निर्माणको काम सुरु गरेको थियो। लिफ्ट खानेपानी योजनाको काम गर्ने जिम्मेवारी विसी निर्माण सेवाले पाएको थियो।
निर्माण कम्पनीले काममा चासो नदिएका कारण आफुहरु एक गाग्री पानीका लागि एक घन्टा हिँड्न धाउन बाध्य भएको कोटकी ४५ वर्षीया पुर्णिमा घर्तीले बताउनुभयो।
आधा किलोमिटर तल खोलानजिकैको मुहानबाट पानी तानेर वडा १ का धेरैजसो बस्तीका घरघरमा पानी पुर्याउने योजना थियो। काम पूरा नहुँदा स्थानीयले घरमै पानी भर्न पाउने सपना अहिलेसम्म पूरा हुन सकेको छैन ।’ गाग्रीमा भरेको पानी डोकोमा बोकेर लामो समय उकालो ओरालो गर्नु पर्दा बस्तीका सबै महिला ढाड दुख्ने समस्याबाट प्रभावित हुँदै आएको उहाँले बताउनुभयो।
वडाबासीको समस्या समाधानको लागि विगतदेखि राख्दै आएको माग अनुसार धेरै पछि बजेट परे पनि ठेकेदारको ढिलाईका कारण स्थानीयको घरघरमा पानी भर्ने चाहना पूरा हुन नसकेको वडाध्यक्ष रविलाल बस्नेतले बताउनुभयो । २०७७ मा निर्माण कम्पनीले सुरु गरेको योजना ५ वर्षको अवधिमा ८० प्रतिशत जति काम गरेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार योजनाको काममा गरेको ढिलाईका कारण पोखराका १ सय ६०, बयालेका १९, धुम्केका ५०, आरुचौरका २० र कोटका २० घर र दुई विद्यालयका बालबालिका प्रभावित भएका छन्।
‘एक वर्षमा सक्नुपर्ने काम ठेकेदारले तोकेको समयमा सम्पन्न गर्न नसकेपछि संघीय सरकारले बजेट पठाउन छाड्यो । सरकारले बजेट नपठाए पनि पालिकाले काम गरे अनुसारको रकम ब्यहोर्ने निर्णय भएको छ । जेठ/असारतिर ठेकेदार आएर काम गरेका थिए । त्यसपछि अहिलेसम्म काम गर्ने सुरसार गरेका छैनन्,’ उहाँले भन्नुभयो ‘हामीले ताकेता गरिरहेका छौ तर चासो देखाएका छैनन् ।’
काममा ढिलाई गर्ने ठेकेदारलाई न कारबाही गर्न सकिएको छ न सर्वसाधारणको आवश्यकता पूरा गर्न सकिएको उहाँले बताउनुभयो। ‘ठेक्का रद्द गर्दा ठेकेदारले मुद्दा हालेमा उल्टै अदालत धाउनु पर्ने बाध्यताले गर्दा टुलुटुलु हेरेर बस्नबाहेक केही गर्न सकिएको छैन,’ उहाँले भन्नुभयो विगतमा विभिन्न किसिमका समस्याका कारण लिफ्ट खानेपानीको काम पूरा गर्न नसके पनि यो वर्ष जसरी भए पनि सम्पन्न गरेर हस्तान्तरण गर्ने निर्माण कम्पनीका संचालक भरत बस्नेतले बताउनुभयो।


262 पटक हेरिएको 

