खानेपानीमा लाग्ने कर हटाउन अर्थ मन्त्रालयसँग समन्वय गर्छौं: खानेपानीमन्त्री परियार

  वास खबर सम्बाददाता  448 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्री डा. मदन परियारले खानेपानीमा लगाउँदै आएको कर हटाउने विषयमा अर्थ मन्त्रालयसँग समन्वय गरेर समाधान खोजिने आश्वासन दिनु भएको छ ।

खानेपानीमा लाग्दै आएको कर छुटको विषयमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) का प्रतिनिधिमण्डलसँग भएको छलफलमा मन्त्री परियारले नागरिकको सुरक्षित र सुलभ खानेपानी पहुँच सुनिश्चित गर्नु सरकारको प्राथमिकता रहेको उल्लेख गर्दै नीतिगत तथा कानुनी उपाय मार्फत दीर्घकालीन समाधान खोजिने प्रतिबद्धता व्यक्त गर्नुभएको कुरा फेडवासनका राष्ट्रिय अध्यक्ष राजेन्द्र अर्यालले जानकारी गराउनुभयो।

छलफलमा फेडवासनले खानेपानी मौलिक हकसँग जोडिएको अत्यावश्यक सेवा भएकाले यसमा कर लगाइनु अनुचित भएको धारणा राखेको थियो। अध्यक्ष अर्याल नेतृत्वको प्रतिनिधिमण्डलले करका कारण खानेपानी सेवा महँगो हुन गई सर्वसाधारण उपभोक्ता माथि अतिरिक्त आर्थिक बोझ परेको जनाउँदै तत्काल समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएको छ।

मन्त्री परियारले खानेपानीजस्तो आधारभूत सेवामा कर लगाइनु संवेदनशील विषय भएको उल्लेख गर्दै यसलाई गम्भीरतापूर्वक लिएर अर्थ मन्त्रालयसँग आवश्यक समन्वय गरी समाधानको बाटो निकालिने बताउनुभयो।

फेडवासनले छलफल सकारात्मक भएको प्रतिक्रिया दिँदै अब यस विषयमा छिट्टै ठोस निर्णय आउने अपेक्षा गरेको जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार