जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर

  वास खबर सम्बाददाता  241 पटक हेरिएको

जनकपुरधाम : जनकपुरधाम नगरभित्र माग अनुसार खानेपानी वितरण तथा आपूर्ति नहुँदा यहाँका ८० प्रतिशत परिवार खानेपानीको पहुँच बाहिर छन्। दैनिक आवश्यकता भन्दा करिब ३५ लाख लिटर कम खानेपानी आपूर्ति गर्दै आएको खानेपानी संस्थान जनकपुरधाम उपभोक्ताको माग अनुसार वितरण गर्न सकिरहेको छैन।

जनकपुरधाम नगरक्षेत्रमा दैनिक दुई करोड ५० लाख लिटर पानीको माग रहे पनि संस्थानले २० प्रतिशत घरमा मात्र पाइप मार्फत खानेपानी आपूर्ति गर्दै आएको जनाएको छ।

कार्यालयका प्रमुख विष्णुदेव साहले राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार हाल जनकपुरधामका ४० हजार ४०९ परिवार मध्ये पाँच हजारमा मात्र खानेपानीको धारा सहित मिटर जडान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार तीमध्ये ४० प्रतिशत घरमा आशिंक रूपमा मात्र पानी आपूर्ति हुने गरेको छ। पछिल्लो समय यहाँ परिवारको सङ्ख्या पनि बढ्दै गएको उहाँको भनाइ छ।

वडा नं १० तथा रामानन्द चोकमा निर्मित चार लाख ५० हजार लिटर क्षमताको दुईवटा ओभरहेड ट्याङ्कीमा छवटा डिपबोरिङबाट सङ्कलित भूमिगत पानीलाई प्रशोधन गरी वितरण भइरहेको प्रमुख साहले जानकारी दिनुभयो। करिब ३४ वर्ष पुरानो वितरण प्रणालीका कारण विभिन्न स्थानमा पाइप फुट्ने, चर्कने, जीर्ण संरचना लगायत समस्याले नियमित पानी वितरणमा चुनौती थपिएको उहाँको भनाइ छ।

सीमित बजेटका कारण ३४ वर्ष पुरानो तथा जीर्ण पाइपबाट सबै वडामा खानेपानी आपूर्ति पुर्‍याउन समस्या भएको कार्यालयका प्रमुख साहले बताउनुभयो। उहाँका अनुसार जीर्ण पाइपका कारण नियमित रूपमा ५० प्रतिशत मात्र पानी आपूर्ति भइरहेको छ।

गत आर्थिक वर्षमा कार्यालय हाताभित्र रु एक करोड ३० लाख मूल्य बराबरको लागतमा थप पाँच लाख लिटर क्षमताको ट्याङ्की र रु चार करोड भन्दा बढीको लागतमा मुजेलिया प्रहरी चौकीबाट वडा नं ८ स्थित होटल सियाशरणसम्मको सडकको दायाँबायाँ आठ–आठ इन्चको पाइप बिछ्याएको थियो।

सीमित स्रोत र साधनका बाबजुद त्यहाँबाट पाँच लाख लिटर पानी भण्डारण तथा धारा जडानको काम भइरहेको कार्यालय प्रमुख साहले बताउनुभयो। यसै बीच, पटक पटक विद्युत् आपूर्ति बन्द हुँदा पानी वितरणमा समस्या हुने गरेको कार्यालयका कर्मचारीले गुनासो गरेका छन्। यहाँका अधिकांश परिवारले चापाकल तथा मोटर जडान गरेर खानेपानी सहित दैनिक प्रयोगका कार्य गरिरहेका छन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार