
हेटौंडा : संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। हेटौडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसर भित्र स्थापना गरिएको पानी परीक्षण प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाका मेयर मेयर मीना लामाले उदघाटन गर्नुभयो।
यो प्रयोगशालाले पानीको गुणस्तर परीक्षणलाई वैज्ञानिक, विश्वसनीय र मापदण्ड अनुसार बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।
नयाँ प्रयोगशालाको सञ्चालनले सेवा केवल मकवानपुर जिल्लामै सीमित नरही छिमेकी जिल्लाका उपभोक्ताहरूले पनि सहज रूपमा पानी परीक्षण सेवा लिन सक्नेछन्। विशेष गरी मधेस प्रदेश लगायत विभिन्न जिल्लाबाट आउने पानीका नमूनाहरूको समेत यहाँ परीक्षण गर्न सकिनेछ।
प्रयोगशालाका लागि ३० लाख रुपैयाँ लागत अनुमान गरी टेन्डर आह्वान गरिएकोमा काठमाडौँस्थित जेएचएस एनालिटिक कम्पनीले २२ लाख रुपैयाँमा उपकरण आपूर्ति तथा जडानको जिम्मा लिएको थियो। कम्पनीले चार महिनाभित्र आवश्यक सबै उपकरण जडान गरिसकेको जनाएको छ।

प्रारम्भिक चरणमा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ तथा सोही मापदण्ड कार्यान्वयन तथा अनुगमन निर्देशिका २०७९ अनुसार तोकिएका २८ वटै भौतिक, रासायनिक तथा सूक्ष्म जैविक (microbiological) परीक्षण गरिनेछ।
हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका अनुसार यस अघि २०७५ सालदेखि सामान्य उपकरण मार्फत पानी परीक्षण गर्दै आइएको थियो। बोर्डका लेखा प्रमुख सञ्जय कुमार न्यौंपानेले भन्नुभयो “अब भने आधुनिक उपकरणको प्रयोगले परीक्षणको नतिजा अझै विश्वसनीय र मापदण्ड अनुसार हुनेछ।”
नयाँ प्रयोगशाला सञ्चालनमा आएसँगै खानेपानीको गुणस्तर सुनिश्चित गर्न, उपभोक्ताको स्वास्थ्य सुरक्षामा टेवा पुर्याउन तथा क्षेत्रीय स्तरमै वैज्ञानिक परीक्षण सेवा उपलब्ध गराउन महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।


282 पटक हेरिएको 

