रेडक्रसको सहयोगमा ठाना गाउँका ८२ घरमा एक घर एक धारा

  वास खबर समाचारदाता  180 पटक हेरिएको

पर्वत : मोदी गाउँपालिका–६ तिलाहारको ठाना गाउँमा ‘एक घर एक धारा’ निर्माण गरिएको छ। सो गाउँमा खानेपानीको चरम अभाव रहँदै आएको थियो।

बस्तीभन्दा करिब एक घण्टा तल रहेका रतीखोला र मोदीखोलाबाट पानी ल्याउनु पर्दथ्यो। ठाना गाउँमा सञ्चालित ठाना खानेपानी तथा सरसफाइ परियोजनाबाट धारा निर्माण गरिएको हो। यहाँ ८२ घरपरिवार छन्।

नेपाल रेडक्रस सोसाइटी कास्कीको व्यवस्थापनमा युनिका फाउन्डेसन दी नेदरल्यान्डको आर्थिक सहयोग र स्थानीय मोदी गाउँपालिकाको साझेदारी तथा उपभोक्ताको श्रमदानमा आयोजना सम्पन्न भएको हो।

युनिका फाउन्डेसन दी नेदरल्यान्डको रु ८३ लाख ३४ हजार ७२०, मोदी गाउँपालिकाको रु २४ लाख ९६ हजार १२९, समुदायको रु २७ लाख ७८ हजार ७७३ बराबरको श्रमदान गरी रु एक करोड ३६ लाख १० हजार ६२२ को लागतमा आयोजना सम्पन्न भएको ठाना खानेपानी तथा सरसफाइ परियोजनाका अध्यक्ष कमलबहादुर केसीले जानकारी दिनुभयो।

उक्त आयोजनाबाट ७८ व्यक्तिगत धारा र चारवटा सामुदायिक धारा जडान गरिएको छ। आयोजनाबाट प्रति दिन ३८ हजार ७८९ लिटर पानी आपूर्ति गर्न सकिने भएको छ। बस्तीभन्दा माथि साढे दुई किलोमिटर दूरीमा रहेको कमल स्वारामा रहेको मुहानबाट जिआई र प्लास्टिक पाइप गरी एक फिल्टर र एक वितरण ट्याङ्की मार्फत घरघरमा पानी वितरण गरिएको छ।

खानेपानी अभावका कारण स्थानीयवासीहरूको बसाइँसराइ बढ्दै गएको र गाउँमा बस्नेहरूले पनि सास्ती खेप्नु परेको खबर पाएपछि खानेपानी आयोजना सञ्चालन गर्नका लागि आर्थिक सहयोग गरिएको युनिका फाउन्डेसन दी नेदरल्यान्डका कार्यकारी प्रमुख रमेशराज पौडेलले बताउनुभयो। उहाँले आयोजना सञ्चालनमा आउनु मात्र ठूलो कुरा नभई यसलाई दिगो रूपमा सञ्चालन गर्नु महत्वपूर्ण हुने बताउनुभयो। यसका लागि नियमित मर्मत सम्भार कोष खडा गर्न समेत उहाँले आग्रह गर्नुभयो।

खानेपानी आयोजना सञ्चालनमा आए पनि ठानागाउँ र आसपासका बस्तीका गरी झन्डै ५०० जनसङ्ख्या लाभान्वित भएको स्थानीय नन्दलाल सुवेदीले जानकारी दिनुभयो। ठानावासीको वर्षौं देखिएको सपना पूरा भएको बताउँदै सुवेदीले यसबाट स्थानीयले पानी पिउन मात्र नभएर आय आर्जनका लागि कृषि पेसा गर्नसक्ने पनि बताएका छन्। उहाँले यसको नियमित मर्मतसम्भारका लागि समुदाय सक्रिय रहने बताउनुभयो।

गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवरले आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी, विद्युत्, सडक, सिँचाइ जस्ता आयोजना निर्माणका लागि आफू निरन्तर सक्रिय रहँदै आएको बताउनुभयो।

कार्यक्रममा मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, उपाध्यक्ष बिमल लामिछाने, सहयोगी संस्था युनिका फाउन्डेशन दी नेदरल्यान्ड, नेपाल रेडक्रस सोसाइटी कास्कीका पदाधिकारी तथा स्थानीय उपभोक्ताहरूले आयोजनाको निरन्तरताका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार