
काठमाडौ : ललितपुरको गोदावरी नगरपालिकाको वडा नं. १४ मा रहेको ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नागार्जुन नगरपालिकाको वडा नं. ३ मा अवस्थित पाँच धारा मूल संरक्षण तथा खानेपानी उपभोक्ता समितिको अवलोकन गरेको छ ।
Health and Environment Development (HEAD) Nepal द्वारा आयोजना गरिएको सुरक्षित खानेपानी (WSP) सम्बन्धी तालिमको दोस्रो दिन ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको उपभोक्ता समिति तथा उपभोक्ताहरुले पाँच धारा मूल संरक्षण तथा खानेपानी उपभोक्ता समितिको सुरक्षा योजना सम्बन्धी अवलोकन गरेको हो ।
अवलोकन भ्रमण तथा अन्तर संवाद कार्यक्रममा पाँच धारा मूल संरक्षण तथा खानेपानी उपभोक्ता समितिको खानेपानी सुरक्षा योजना टोलीका संयोजक एवं कोषाध्यक्ष राजु लामा तामाङले टोलीले खानेपानीलाई सुरक्षित राख्न गर्दै आएको नियमित कामबारे जानकारी गराउनुभयो।

उहाँका अनुसार २०६३ सालदेखि पाइप प्रणालीबाट पानी वितरण गर्न थालेको उपभोक्ता समितिले २०६८ मंसिर १० गते देखि नै खानेपानी सुरक्षा योजना लागु गरेको हो । पाँच धारा मूल संरक्षण तथा खानेपानी उपभोक्ता समितिका ल्याब टेक्निसियन सचिन नगरकोटीका अनुसार समितिले एक दिन बिराएर इकोली परिक्षण गर्ने गरिएको छ । सुरुको धारा र अन्तिम धारामा क्लोरिन अवशेष परिक्षण गरी पानीमा क्लोरिनको मात्रा पूरा भएको सुनिश्चित गर्ने गरिएको छ ।

उहाँले उपभोक्ताहरु माझ गरिएको एक अध्ययनले सबैजसो घरपरिवारले धाराबाट सीधै पिउने गरिएको । समितिले सुरक्षित पानी मात्र वितरण गर्छ भन्नेमा उपभोक्ताहरु विश्वस्त रहेको र धाराबाट थापेपछि घरेलु शुद्धिकरणका कुनै पनि विधि नअपनाई पिउने गरेको अध्यक्ष राम शरण नगरकोटीले बताउनुभयो।

कार्यक्रममा विश्व स्वास्थ्य संगठन (WHO) का नेस्नल प्रोफेस्नल अफिसर डा.सुदन पन्थीले खानेपानीलाई क्लोरिनेसन गर्दा खानेपानी कसरी सुरक्षित हुन्छ भन्ने बिषयमा विभिन्न उदाहरणहरु प्रस्तुत गर्दै प्रष्ट पार्नुभयो । उहाँले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा भएको पारामितिहरु, सुरक्षित खानेपानी वितरण गर्नुपर्ने खानेपानी तथा सरसफाइ ऐनको प्रावधान र सेवा प्रदायकले वितरण गरेको खानेपानीका कारण स्वास्थ्य समस्या सिर्जना भएमा कैद सजाय समेत हुन सक्ने ऐनको प्रावधान सम्बन्धी पनि जानकारी गराउनुभयो।

उहाँले पानीमा इकोली भए पनि वा नभए पनि क्लोरिनेसन गर्नुपर्नेमा जोड दिनुभयो। क्लोरिनेसन गर्नु भनेको हुन सक्ने प्रदुषणबाट सुरक्षित राख्नु पनि भएकाले पानीमा तोकिएको मात्रामा क्लोरिनेसन गर्नुपर्ने बताउनुभयो। राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा क्लोरिनेसन गरिएको पानीमा क्लोरिनको अवशेष प्रति लिटर पानीमा ०.१ देखि ०.५ मिलिग्राम सम्म हुनुपर्ने प्रावधान छ ।

अन्तरसंवाद कार्यक्रममा स्वास्थ्य मन्त्रालयका पूर्व सचिव एवं शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका अध्यक्ष डा.दीपेन्द्र रमण सिंहले सुरक्षित खानेपानीका कारण मानिसको स्वास्थ्यमा योगदान पुग्ने बताउनुभयो।उहाँले आफू स्वास्थ्य सचिव भएका बेला अन्तरमन्त्रालय बीच हुने बैठकहरुमा स्वास्थ्य क्षेत्रको १० प्रतिशत बजेट खानेपानी मन्त्रालयलाई थप गर्ने प्रस्ताव समेत गरेको स्मरण गर्नुभयो।

कार्यक्रममा ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष महेन्द्र श्रेष्ठले आफ्ना उपभोक्ताहरुलाई एकदम सस्तोमा पानी वितरण गर्न थालेको बताउनुभयो। उहाँका अनुसार हालै सम्पन्न साधारण सभाले प्रति युनिट खानेपानीको मूल्य १० रुपैयाँ निर्धारण गरिएको बताउनुभयो । अन्य खानेपानी उपभोक्ता संस्थामा जस्तो खानेपानी प्रयोग नगर्दा पनि तिर्नैपर्ने न्यूनतम शुल्कको व्यवस्था नगरिएको पनि बताउनुभयो ।

“यसअघि १० युनिटसम्म हामीले निशुल्क पानी वितरण गर्दै आएका थियौं, हालै सम्पन्न साधारण सभा देखि १ युनिट बराबर १० रुपैयाँ निर्धारण गरिएको हो” उहाँले भन्नुभयो। ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले २ हजार ३ सय भन्दा बढी घरधुरीलाई सुरक्षित खानेपानी वितरण गर्दै आएको छ ।



503 पटक हेरिएको 

