
ललितपुर : ललितपुरको गोदावरी नगरपालिकाको वडा नं. १४ मा रहेको ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी सुरक्षा योजना संचालन गर्ने भएको छ।
उपभोक्ता समितिका पदाधिकारीहरु र सरोकारवाला संस्थाका प्रतिनिधिहरुका लागि आयोजना गरिएको खानेपानी सुरक्षा योजना सम्बन्धी तीन दिने तालिम पछि ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले खानेपानी सुरक्षा योजना सञ्चालन गर्न प्रतिबद्ध भएका हुन्।
ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा ठैब र बाडेगाउँमा वितरण हने पानी उपभोक्ताहरुको धारासम्म पुग्दा सुरक्षित अर्थात् राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड, २०७९ ले तोकेको अनुसारको बनाउनका लागि सेवा प्रदायक र सरोकारवालाहरुको ज्ञान बढाउन र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिम आयोजना गरिएको HEAD Nepal का निर्देशक डा. मखन महर्जनले बताउनुभयो।

Health and Environment Development (HEAD) Nepal द्वारा आयोजना गरिएको सो तालिममा गोदावरी नगरपालिका, १४ वडाका वडा अध्यक्ष श्री निरोज बज्राचार्यले ठैब र बाडेगाउँ का बासिन्दाहरुमा सफा र शुद्घ खानेपानी वितरण गर्ने कार्यमा वडा कार्यालयबाट सक्दो सहयोग हुने आश्वासन दिनुभयो ।
तालिमको पहिलो दिन विश्व स्वास्थ्य संगठन (WHO) का नेस्नल प्रोफेस्नल अफिसर डा. सुदन राज पन्थीले खानेपानी सुरक्षा योजनाको इतिहासबारे विस्तृत जानकारी दिदैं नेपालका विभिन्न ठाउँहरुको खानेपानी प्रणालीहरुमा लागु गरिएका खानेपानी सुरक्षा योजना सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।

साथै उहाँले खानेपानी सुरक्षा योजना लागू गर्नु अघि र पछिका अवस्थाहरु र खानेपानीको गुणस्तरमा भएको सुधारबारे तुलनात्मक घटना अध्ययनहरुको प्रस्तुत गर्दै तालिमका सहभागीहरुलाई खानेपानी सुरक्षा योजनाको महत्व प्रष्ट पार्नु भएको थियो । तालिमका प्रशिक्षक WASH विज्ञ डा. दिनेश राज मानन्धरले खानेपानी सुरक्षा योजनाका चरणहरुको विस्तृत प्रस्तुतीकरण र त्यस सम्बन्धमा सहभागितामुलक छलफल गराउनु भयो ।
तालिमको दोस्रो दिन सिकाई एवम् अनुभव आदान प्रदानका लागि नागार्जुन नगरपालिकाको वडा नं. ३ मा अवस्थित पाँच धारा मूल संरक्षण तथा खानेपानी उपभोक्ता समितिको अवलोकन तथा अन्तर संवाद कार्यक्रम आयोजना गरिएको थियो ।

तालिमको अन्तिम दिन गत वर्ष असोज महिनामा आएको बाढीले क्षति पुर्याएकोे ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी प्रणालीका स्रोतहरु/इन्टेकहरु र पानी प्रसारण पाइपहरुको वर्तमान अवस्था, तिनको संरक्षणका लागि गर्नुपर्ने कार्यहरुबारे छलफलमा केन्द्रित थियो ।

WASH विज्ञ डा. दिनेश राज मानन्धरले तत्काल गर्नुपर्ने कार्यहरुलाई प्राथमिकतामा राखेर ठैब खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको खानेपानी प्रणालीको मर्मत संभार तथा सुधार कार्य योजना समय अवधि तोकेर जिम्मेवारीका साथ तयार गर्नु पर्नेमा जोड दिनुभयो ।
सहभागिताहरुलाई खानेपानी सुरक्षा योजनाका चरणहरु सम्बन्धी मनोरञ्जक खेल पनि खेलाईएको थियो । खानेपानी प्रणालीको मर्मत संभार तथा सुधार कार्य योजना सम्बन्धी छलफलमा Clean Development Consult का इञ्जिनियर सुदिप हाडा र इञ्जिनियर कविर दास राजभण्डारीको पनि उपस्थिति रहेको थियो ।


451 पटक हेरिएको 

