
सिमरा : राष्ट्रिय साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका पदाधिकारीहरू र सिमरा खानेपानी सहित पाँच वटा खानेपानी संस्थाका प्रतिनिधिहरू बीच खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित समसामयिक विषय र संस्थागत समस्याबारे गहन छलफल भएको छ।
सिमरा खानेपानी संस्थाको कार्यालयमा भएको छलफलमा खानेपानी तथा सरसफाइ संस्थाहरूले भोग्दै आएका प्रमुख चुनौतीहरू स्रोत संरक्षण, गुणस्तरीय खानेपानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्ष जनशक्तिको अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता तथा स्थानीय तहसँगको समन्वय जस्ता विषयमा विस्तृत विचार–विमर्श गरिएको थियो।
छलफलका क्रममा साना तथा समुदायमा आधारित खानेपानी संस्थाहरूलाई कसरी अझ सुदृढ र सक्षम बनाउने, क्षमता विकास, सुशासन प्रवर्द्धन, पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धि गर्ने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।
राष्ट्रिय साना सहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेम वलीले संघीय संरचनामा खानेपानी तथा सरसफाइ संस्थाहरूको भूमिका अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै नीति निर्माण तहमा संस्थागत आवाज बलियो बनाउनुका साथै प्रदेश र स्थानीय तहसँग सहकार्य र समन्वय बढाउन आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा सिमरा खानेपानी संस्थाले आफ्ना अनुभव, अभ्यास तथा विद्यमान समस्याहरू प्रस्तुत गर्दै दीर्घकालीन समाधानका लागि साझा पहल अपरिहार्य रहेको धारणा व्यक्त गरेका थिए।
छलफलले खानेपानी तथा सरसफाइ क्षेत्रका साझा समस्या पहिचान गर्न, आपसी सहकार्य र समन्वय सुदृढ बनाउन तथा संस्थागत सुधारका लागि स्पष्ट मार्गचित्र तय गर्न महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकालिएको छ।


304 पटक हेरिएको 

