कोशी अस्पतालले खोला किनारामा फाल्याे फोहोर

  वास खबर सम्बाददाता  188 पटक हेरिएको

विराटनगर : विराटनगर महानगरपालिका–५ अन्तर्गत केसलिया खोला छेउमा अस्पतालजन्य फोहोर अवैध रूपमा फाल्ने गरिएको पाइएको छ । स्थानीयले दिएको सूचनाका आधारमा महानगरपालिकाबाट खटिएको नगर प्रहरी टोलीले घटनास्थलबाट एउटा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।

स्थानीयका अनुसार लामो समयदेखि सो स्थानमा अस्पतालबाट निस्कने कागजात, सिरिञ्जलगायतका जोखिमयुक्त फोहोर खुला रूपमा फालिँदै आएका थिए । यसले वातावरणीय प्रदूषण बढाउनुका साथै आम नागरिकको स्वास्थ्यमा गम्भीर जोखिम सिर्जना गरेको स्थानीयको गुनासो छ ।

नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार नगर प्रहरीको टोली घटनास्थलमा पुग्दै गरेको थाहा पाएपछि फोहोर फाल्न प्रयोग गरिएको ट्रयाक्टरसहित चालक फरार भएका छन् । ‘नगर प्रहरी आउँदै गरेको देखेपछि ट्रयाक्टर चालक ट्रयाक्टरसहित फरार भयो, तर फोहोर फाल्ने कार्यमा संलग्न प्रदेश–०१–०२–०५९ प ३५७२ नम्बरको अनटेष्ट मोटरसाइकललाई भने स्थानीयको सहयोगमा नियन्त्रणमा लिन सफल भयौं,’ पौडेलले बताए ।

स्थानीयले दिएको जानकारीअनुसार मोटरसाइकल चालक फोहोर बोकेको ट्रयाक्टरमै चढेर भागेका थिए । नियन्त्रणमा लिइएको मोटरसाइकल हाल महानगरपालिकाको कार्यालयमा राखिएको छ । मोटरसाइकलका धनी सम्पर्कमा आएपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही र जरिवाना तिराएर मात्रै सवारीसाधन फिर्ता गरिने नगर प्रहरी प्रमुख पौडेलले स्पष्ट पारे ।

घटनास्थलमा फालिएका फोहोरको प्रारम्भिक परीक्षण गर्दा भेटिएका कागजात र प्रयोग गरिएका सिरिञ्जका आधारमा ती फोहोर कोशी अस्पतालसँग सम्बन्धित भएको पाइएको नगर प्रहरीको दाबी छ । यस विषयमा सरसफाइ शाखाका प्रमुख पुनमकुमार दाहालले विगतमा पनि कोशी अस्पतालभित्र तथा बाहिर परिसरमा शौचालयजन्य तथा अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन गर्न महानगरपालिकाले पटक–पटक पत्राचार गर्दै आएको जानकारी दिए ।

‘अस्पतालजन्य फोहोर अत्यन्तै संवेदनशील विषय हो । यसलाई खुला रूपमा नदी, खोला वा सार्वजनिक स्थानमा फाल्नु गम्भीर अपराध हो,’ दाहालले भने, ‘महानगरपालिकाले पटकपटक सचेत गराउँदा पनि बेवास्ता हुनु दु:खद् हो ।’ महानगरपालिकाले वातावरण संरक्षण र सार्वजनिक स्वास्थ्यलाई असर पार्ने यस्ता गतिविधिमा संलग्न व्यक्ति वा संस्थामाथि कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै, स्थानीयलाई पनि यस्ता गैरकानुनी गतिविधि देखेमा तुरुन्तै महानगरपालिका वा नगर प्रहरीलाई जानकारी गराउन आग्रह गरिएको छ ।यो खबर कारोबार दैनिकले प्रकाशन गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार