
काठमाडौ : राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका पदाधिकारीहरूले निजगढ, बर्दिवास, कमलामाई तथा सिमरा खानेपानी संस्था लगायत विभिन्न खानेपानी क्षेत्रको प्रतिनिधित्व गर्ने पदाधिकारीहरूसँग खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित समसामयिक विषय र संस्थागत समस्याबारे छलफल गरेका छन्।
छलफलका क्रममा खानेपानी तथा सरसफाइ संस्थाहरूले भोग्दै आएका प्रमुख चुनौतीहरू जस्तै : स्रोत संरक्षण, गुणस्तरीय खानेपानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्ष जनशक्तिको अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता तथा स्थानीय तहसँगको समन्वयका विषयमा विस्तृत रूपमा विचार विमर्श गरिएको महासंघका अध्यक्ष खेमराज वलीले जानकारी दिनुभयो।
उहाँका अनुसार साना तथा समुदायमा आधारित खानेपानी संस्थाहरूलाई कसरी सुदृढ बनाउने, क्षमता विकास कसरी गर्ने, सुशासन, पारदर्शिता तथा उत्तरदायित्व कसरी अभिवृद्धि गर्ने भन्ने विषयमा पनि सहभागीहरूबीच स्पष्ट धारणा आदान प्रदान भएको थियो।
महासंघका पदाधिकारीहरूले संघीय संरचनामा खानेपानी तथा सरसफाइ संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने, नीति निर्माण तहमा आवाज मजबुत गर्ने तथा प्रदेश र स्थानीय तहसँग सहकार्य बढाउनुपर्ने आवश्यकतामा जोड दिएका थिए।
कार्यक्रममा सिमरा खानेपानी संस्थाले आफ्ना अनुभव, अभ्यास र भोग्दै आएका समस्याहरू प्रस्तुत गर्दै दीर्घकालीन समाधानका लागि साझा पहल आवश्यक रहेको उल्लेख गरेको थियो।
छलफलले खानेपानी तथा सरसफाइ क्षेत्रका साझा समस्याहरू पहिचान गर्न, आपसी सहकार्य र समन्वयलाई थप सुदृढ बनाउन तथा संस्थागत सुधारका लागि स्पष्ट मार्गचित्र तयार गर्न महत्वपूर्ण योगदान पुर्याएको राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका सल्लाहकार चोक प्रसाद धितालले बताउनुभयो।


195 पटक हेरिएको 

