श्रीकृष्ण बेभरेजको पानीमा एमोनियाको मात्रा मापदण्ड भन्दा बढी

  वास खबर सम्बाददाता  156 पटक हेरिएको

काठमाडौँ : खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँका पानी आपूर्तिकर्ताले वितरण गर्ने पिउने पानीमा एमोनियाको मात्रा तोकिएको मापदण्ड भन्दा बढी भेटिएको छ। विभागको टोलीले भक्तपुरस्थित श्रीकृष्ण बेभरेजले उत्पादन गरेर बजारमा पठाएको पानीको परीक्षण गर्दा एमोनियाको मात्रा तोकिएको मापदण्ड भन्दा बढी भेटिएको हो।

विभागका अनुसार कागेश्वरी मनोहरा नगरपालिका–९ मा पर्ने गोठाटार क्षेत्रका विभिन्न खाद्य उद्योग र व्यवसायको अनुगमन गरेर जारको पानी परीक्षण गर्दा एमोनिया भेटिएपछि थप परीक्षणका लागि नमुना सङ्कलन गरिएको छ । राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले खानेपानीमा एमोनियाको अधिकतम सघनन् सीमा प्रति लिटर १.५ मिलिग्राम भन्दा बढी हुन नहुने व्यवस्था गरेको छ।

अनुगमनका क्रममा उक्त उद्योगमा काम गर्ने श्रमिकले हातमा पन्जा समेत नलगाई जार भर्ने गरेकोसमेत पाइएको थियो । त्यसै गरी शीतल जल उद्योगमा श्रमिकको व्यक्तिगत सरसफाइ पर्याप्त नभएको र प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका अनुसारको अभिलेख नराखेको पाइएको छ । विभागले उक्त उद्योगलाई पुराना र कुच्चिएका जार प्रयोग नगर्न र सरसफाइमा सुधार गर्न निर्देशन दिएको छ ।

विभागले उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने व्यवसायीलाई सचेत गराउँदै देखिएका कैफियत तत्काल सुधार गर्न कडा निर्देशन दिएको जनाएको छ ।

मोबाइल खाद्य प्रयोगशाला भ्यानबाट गरिएको परीक्षणमा पानीमा एमोनिया भेटिएको श्रीकृष्ण बेभरेजलाई कारबाही प्रक्रिया अगाडि बढाएको जनाइएको छ । विभागका निर्देशक डा. बालकुमारी शर्माले सम्बन्धित पानी उद्योगलाई प्रशोधित पिउने पानी उत्पादन मापदण्ड सम्बन्धी निर्देशिका, २०७४ मा भएका प्रावधान पूर्ण रूपमा पालना गर्न र खाद्य स्वच्छता कायम गर्न निर्देशन दिएको जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार