
बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले समुदाय लक्षित सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । खानेपानी सुरक्षा योजना टोलीको आयोजनामा उपभोक्ताहरूका लागि एकदिने अभिमुखीकरण तथा सचेतना कार्यक्रम आयोजना गरिएको हो ।
संस्थाको कार्यक्षेत्रभित्र रहेका ज्ञानज्योती आमा समूह र नवकालिका टोल विकास संस्थाका करिब ५५ जना सदस्यहरूको सहभागितामा सम्पन्न कार्यक्रममा खानेपानीको स्वच्छता, सुरक्षा तथा वातावरणीय सरसफाइका विषयमा विस्तृत छलफल गरिएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष दीपक लम्सालले उपभोक्तालाई सफा र स्वच्छ पानीको उपभोगप्रति सचेत गराउन समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो । उहाँले क्लोरिन प्रयोगका कारण कहिलेकाहीँ पानीमा गन्ध आउन सक्ने उल्लेख गर्दै पानी चुहावट वा अन्य कुनै समस्या देखिएमा तुरुन्तै संस्थामा जानकारी गराउन आग्रह गर्नुभयो । प्लास्टिकजन्य फोहोरले माटोको उर्वराशक्ति घटाउने भन्दै वृक्षारोपणमार्फत पानीका मुहान संरक्षण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका संयोजक तथा संस्थाका उपाध्यक्ष कमल थापाले संस्थाको मुख्य उद्देश्य ‘मुहानदेखि मुखसम्म शुद्ध पानी पुर्याउनु’ रहेको बताउनुभयो । पानीको शुद्धता आँखाले हेरेर मात्रै थाहा नपाइने उल्लेख गर्दै उहाँले घरको धारामा कपडा नबाध्न उपभोक्तालाई आग्रह गर्नुभयो । “धारामा बाँधिएको भिजेको कपडामा स्वास्थ्यका लागि हानिकारक जीवाणु पैदा हुन सक्छन्, जसले पानी झन् दूषित बनाउँछ,” उहाँले भन्नुभयो । हाल संस्थाले ७ वटा मुहान प्रयोग गरी पानी वितरण गरिरहेको र २०६८ सालदेखि खानेपानी सुरक्षा योजना लागू गर्दै आएको जानकारी पनि उहाँले दिनुभयो ।
संस्थाका सचिव शोभाकान्त कोइरालाले ‘शून्य फोहोर अभियान’ सञ्चालन भइरहेको जानकारी दिँदै प्लास्टिकजन्य फोहोर घरमै व्यवस्थापन गर्न र वरपरको वातावरण सफा राख्न आग्रह गर्नुभयो । प्लास्टिक जलाउँदा स्वास्थ्यमा गम्भीर असर पर्ने उहाँको भनाइ थियो ।

संस्थाकी कोषाध्यक्ष राधादेवी अधिकारीले उपभोक्ता सचेत भएमा संस्थाको काम अझ प्रभावकारी बन्ने बताउँदै उपभोक्ताका सुझावका आधारमा संस्था अघि बढ्ने धारणा राख्नुभयो । संस्थाका निवर्तमान सचिव धनबहादुर गुरुङले पानी मानव जीवनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै यसको संरक्षण र सदुपयोगमा उपभोक्तासँग नजिकिएर काम गरिँदै आएको बताउनुभयो ।
संस्थाका व्यवस्थापक विष्णु भुसालले संस्थाको वित्तीय तथा भौतिक प्रगतिबारे जानकारी दिँदै सुरुमा १ हजार धारा वितरण गर्ने लक्ष्य राखिएकोमा हाल ४ हजार २ सय २४ उपभोक्ता पुगेको बताउनुभयो । उहाँका अनुसार संस्थाको मासिक आम्दानी १४ लाख ५० हजार रुपैयाँ र खर्च करिब १४ लाख रुपैयाँ रहेको छ भने स्थापनाकालदेखि हालसम्म करिब १५ करोड रुपैयाँ बराबरको पानी बिक्री भइसकेको छ ।
ज्ञानज्योती आमा समूहकी कोषाध्यक्ष मनिषा कुवरले खानेपानीसम्बन्धी आफ्ना शङ्का–उपशङ्का कार्यक्रममार्फत स्पष्ट भएको बताउँदै अब कुनै अन्योल नरहेको प्रतिक्रिया दिनुभयो । त्यस्तै नवकालिका टोल विकास संस्थाका प्रतिनिधि शम्भु रायमाझीले कुहिने र नकुहिने फोहोर छुट्याएर व्यवस्थापन गर्न सकिने तथा बालबालिकालाई सरसफाइ र पानीको सदुपयोगबारे सिकाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा खानेपानी र सरसफाइसम्बन्धी साङ्गीतिक प्रस्तुति समेत प्रस्तुत गरिएको थियो । साथै सहभागीहरूलाई संस्थाको गतिविधि, संरचना र वर्तमान अवस्थाबारे जानकारी गराइएको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले पानी चुहावट देखेमा खबर गर्ने, प्लास्टिक प्रयोग नगर्ने, कपडाको झोला प्रयोग गर्ने तथा कुहिने फोहोरबाट कम्पोस्ट मल बनाउने लगायतका प्रतिबद्धता व्यक्त गरेका थिए ।


294 पटक हेरिएको 

