
नवलपुर : नवलपुरको देवचुली नगरपालिका–६ नगरपालिकाकै दुर्गम मानिने वडा हो। मुण्डे बजारको केही खण्ड बाहेक कुम्सोत, किर्तिपुर, मृतुङ, नयाँछाप लगायतका विकट गाउँ बस्तीहरूमा समेत सबै घरधुरीमा खानेपानीको धारा जडान भएको छ।
वडामा रहेका जम्मा ४०५ घरधुरीमा धारा जडान तथा सबै घरमा शौचालय समेत निर्माण भइसकेको खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ,नवलपुरका अध्यक्ष खिमानन्द भुसालले जानकारी गराउनुभयो।
गण्डकी प्रदेश खानेपानी मन्त्रालय, देवचुली नगरपालिका, देवचुली नगरपालिका वडा नं ६ का वडाध्यक्ष मिनबहादुर सोती नेतृत्वका जन्प्रतिनिधि , नमुना वास गाउँ परियोजना, स्थानीय ८ वटा खानेपानी उपभोक्ता संस्था, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नवलपुर, जागृति बाल तथा युवा सरोकार नेपाल, स्थानीय आमा समूह, युवा क्लब, सामुदायिक वन, तथा नेपाल राष्ट्रिय शारदा आधारभूत विद्यालयको निरन्तर प्रयास र सहकार्यले यो उपलब्धी हासिल भएको उहाँले बताउनुभयो।
यसै उपलब्धिका आधारमा देवचुली नगरपालिका वडा नं। ६ लाई “पूर्ण सरसफाइ उन्मुख वडा” घोषणा गरिएको छ। गण्डकी प्रदेशका ८५ पालिकामा शतप्रतिशत धारा जडान भएका अन्य वडा भए पनि औपचारिक रूपमा घोषणा गरिएको यो नै पहिलो वडा भएको दाबी गरिएको छ।
घोषणा कार्यक्रममा कार्यक्रम अध्यक्ष वडा अध्यक्ष मिनबहादुर सोती रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा देवचुली नगरपालिकाका नगर प्रमुख सहभागी हुनु भएको थियो।


360 पटक हेरिएको 

