विवादित छविका खानेपानी सचिव साह दुई महिना नपुग्दै हटाईए, विज्ञान प्रविधिका सचिव पुडासैनीलाई जिम्मेवारी

  वास खबर समाचारदाता  567 पटक हेरिएको

काठमाडौ : खानेपानी मन्त्रालयका बिवादित सचिव रामआधार साहलाई सरकारले दुई महिनामै हटाइएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव साहलाई खानेपानी मन्त्रालयबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस अघि मंसिर २२ गते बसेको मन्त्रिपरिषद् बैठकले खानेपानी मन्त्रालयकी सचिव प्रमिलादेवी बज्राचार्यलाई नेपाल ट्रस्ट कार्यालयमा र नेपाल ट्रस्टबाट साहलाई खानेपानी मन्त्रालयमा दोस्रो पटक सरुवा गरिएको थियो।

खानेपानी मन्त्रालयमा दोस्रो पटक सचिवको जिम्मेवारी पाए यता सचिव साह र खानेपानीमन्त्री मदन परियारले करिब १० सहसचिवको सरुवा गरेका थिए भने माघको पहिलो साता मात्रै सचिव साह र मन्त्री परियारको योजनामा झण्डै १० जना कर्मचारीको हतार हतार सरुवा गरिएको थियो ।

निजामती सेवा नियमावली, २०५० को नियम ३६ को उपनियम (६) अनुसार अनिवार्य अवकाश हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको निजामती कर्मचारीलाई निजले स्वयं माग नगरेसम्म सरुवा गर्न नपाइने स्पष्ट व्यवस्था भएपनि सचिव साहले त्यस्ता कर्मचारीको समेत सरुवा गरेका थिए ।

त्यसपछि खानेपानी मन्त्रालय सचिवस्तरीय निर्णयद्वारा गरिएको कर्मचारीको सरुवा विरुद्ध प्रशासकीय अदालतमा मुद्दा परेपछि अदालतले बदर गरेको थियो।

पहिलो पटक खानेपानी मन्त्रालयको जिम्मेवारी संहाल्दा पनि साह सँग आजित भए पछि मन्त्रालयदेखि मातहतका सबै सहसचिवहरू मन्त्रीकोमा डेलिगेसन गएका थिए। सहसचिवको कार्य सम्पादन मूल्याङ्कन समयमै नपठाई तिरिमिरी पारेपछि मुख्यसचिवलाई समेत भेटेर साहको रवैयाबारे असन्तुष्टि जनाउँदै जनाएका थिए। सचिव साह मातहतमा कामै गर्न नसक्ने भएकोले तत्काल सरुवाको माग गर्दै त्यसबेला मन्त्रालय र मातहतका कर्मचारीहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सम्मै पुगेका थिए ।

सरुवादेखि करार नियुक्तिसम्मै विवादित बनेका साहले विभाग तथा आयोजना कार्यान्वयन निर्देशनालयका कैयन स्रोत सुनिश्चितता र टेन्डरका फाइलमा विशेष ‘इन्ट्रेष्ट’ राख्ने गरेको चर्चा सिंहदरबारभित्र त्यसबेला चारैतिर फैलिएको थियो । हप्तौँसम्म फाइलै नभेटिएपछि मन्त्री र सचिव साहको ठुलै खटपट भएको थियो भने मन्त्रीले तत्काल सरुवा भएर जानुस् भनेका थिए ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार