
सुर्खेत : सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजनाको प्रदेशस्तरीय अर्धवार्षिक प्रगति समीक्षा, पृष्ठपोषण तथा आर्थिक वर्ष ०८३/०८४ को प्रारम्भिक वार्षिक योजना तर्जुमा सम्बन्धी छलफल तथा सिकाइ आदानप्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
विरेन्द्रनगर, सुर्खेतमा बिहीबारदेखि सञ्चालन भएको तीनदिने कार्यक्रममा सुस्वा आयोजना लागू भएका कर्णाली प्रदेशका २८ वटै पालिकाको सहभागिता रहेको थियो। कार्यक्रममा पालिका वास संयोजकहरूले आ–आफ्नो पालिकामा भएका खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी क्रियाकलापहरूको आर्थिक तथा भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।
समीक्षाको क्रममा आयोजना सहयोग इकाईको तर्फबाट हालसम्मको समग्र प्रगतिको तथ्याङ्क विवरण (MIS) सल्लाहकार छत्र चौधरीले प्रस्तुत गर्नुभएको थियो। साथै आयोजनाको उद्देश्य र लक्ष्य हासिल गर्न आगामी दिनमा अवलम्बन गर्नुपर्ने कार्ययोजना, कार्यान्वयन प्रक्रिया र सुधारका उपायहरूबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा मुख्य प्राविधिक सल्लाहकार (CTA) मारियो मिलानेसी, डेपुटी टिम लिडर (DTL) मानबहादुर वि.के., प्राविधिक विज्ञ नारायण सिंह खवास, सुशासन विज्ञ निराजन श्रेष्ठ, सरसफाइ तथा स्वच्छता विज्ञ गोविन्द रोकाय, जेडसी विज्ञ राजु तिर्वा तथा सेवा सहायता केन्द्रका इन्द्रराज बडु लगायतले सहजीकरण गर्नुभएको थियो।
समीक्षा तथा कार्यशालामा सेवा सहायता केन्द्रको प्रभावकारिता, वास इकाईको निरन्तरता, सुस्वा आयोजनाको बहिर्गमन रणनीति, खानेपानी आयोजनाको दिगोपनाका लागि गरिएका प्रयास, कार्यविधि निर्माण तथा प्रभावकारी कार्यान्वयन, र व्यवहार परिवर्तनका असल अभ्यासहरूलगायत विषयमा गहन छलफल गरिएको थियो।
सुस्वा आयोजना कार्यान्वयनको चौथो वर्षमा प्रवेश गरिसकेको सन्दर्भमा यस वर्ष खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी क्रियाकलापहरूको चाप बढी रहेको निष्कर्ष निकाल्दै कार्यान्वयन प्रक्रिया छिटो, सरल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
साथै आगामी वर्ष आयोजनाको बहिर्गमन वर्ष रहेकाले दिगोपनासँग सम्बन्धित गतिविधिबाहेक ठूला तथा नयाँ आयोजना सीमित रूपमा मात्र कार्यान्वयन गर्न सकिने बताइएको छ।
सुस्वा आयोजना नेपाल सरकार, फिनल्याण्ड सरकार, युरोपियन युनियन, स्थानीय सरकार तथा समुदायको लागत सहभागितामा सञ्चालन हुँदै आएको छ। अधिकारमुखी अवधारणालाई आत्मसात गर्दै खानेपानी तथा सरसफाइ योजना निर्माण, मर्मत र सुधार गर्ने उद्देश्यसहित यो आयोजना सन २०२१ (२०७८ कार्तिक) देखि कर्णाली प्रदेशका १० जिल्लाका ४२ पालिकामा कार्यान्वयनमा आएको हो।
यस आयोजनामार्फत तीनवटा परिणाम क्षेत्रअन्तर्गत गतिविधिहरू सञ्चालन भइरहेका छन्।
• परिणाम क्षेत्र १ अन्तर्गत वास सेवा, लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणका लागि सक्षम वातावरण र शासन सुदृढीकरण।
• परिणाम क्षेत्र २ अन्तर्गत खानेपानी योजना निर्माण, मर्मत तथा सञ्चालनमार्फत २ लाख ६२ हजार ५०० जनसंख्यालाई जलवायु उत्थानशील, सुरक्षित र नियमित खानेपानी आपूर्ति।
• परिणाम क्षेत्र ३ अन्तर्गत ३०० वटा संस्थागत शौचालय निर्माण तथा सुधार गर्दै ४ लाख ८३ हजार ६०० जनसंख्या लाभान्वित गर्ने लक्ष्य रहेको छ।
फिनल्याण्ड सरकारले सन् १९८९ देखि नेपालमा खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा गर्दै आएको आर्थिक तथा प्राविधिक सहयोगको निरन्तरताका रूपमा सुस्वा आयोजना अघि बढिरहेको छ।


395 पटक हेरिएको 

