
इटहरी : स्थानीय समुदायमा फोहोर संकलन, स्रोतमा वर्गीकरण र पुनर्चक्रणको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले इटहरी उपमहानगरपालिकामा फोहोर व्यवस्थापन तथा प्लास्टिक चक्रिय अर्थतन्त्रसम्बन्धी दुईदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।
क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) ले इटहरी उपमहानगरपालिकासँगको सहकार्य तथा स्ट्यान्डर्ड चार्टर्ड नेपाल बैंक लिमिटेडको आर्थिक सहयोगमा आयोजना गरेको उक्त तालिम “फोहोरको स्रोतमा वर्गीकरण तथा प्लास्टिकबाट मूल्य सिर्जना गर्ने सीप” विषयमा केन्द्रित थियो। तालिम २०८२ माघ २० देखि २१ गते र २२ देखि २३ गतेसम्म दुई लटमा सञ्चालन गरिएको हो।
तालिममा सहभागीहरूलाई फोहोर व्यवस्थापनका आधुनिक अभ्यास, चक्रिय अर्थतन्त्रका सिद्धान्त, प्लास्टिकका प्रकार, सुरक्षित व्यवस्थापनका उपाय तथा प्लास्टिकबाट आर्थिक मूल्य सिर्जना गर्ने व्यावहारिक सीपबारे जानकारी दिइएको क्लिन अप नेपालले जनाएको छ। संस्थाका कार्यकारी निर्देशकका अनुसार तालिमले सहभागीहरूको फोहोर वर्गीकरणसम्बन्धी ज्ञान मजबुत बनाउनुका साथै प्लास्टिक मूल्य शृङ्खला र चक्रिय अर्थतन्त्रबारे सचेतना विस्तार गर्न सहयोग पुर्याएको छ।
तालिमका क्रममा प्लास्टिक जलाउँदा स्वास्थ्यमा पर्ने नकारात्मक प्रभाव, विद्यमान नीति–नियम, तथा प्लास्टिक पुनर्चक्रणसँग सम्बन्धित आधारभूत व्यावसायिक मोडेलहरूबारे पनि जानकारी प्रदान गरिएको थियो। सैद्धान्तिक ज्ञानलाई व्यावहारिक प्रदर्शनमार्फत स्पष्ट गरिएको आयोजकले जनाएको छ।
दुई लटमा सञ्चालन भएको तालिममा जम्मा ८७ जना स्थानीय सहभागीहरूको सहभागिता रहेको थियो, जसमा ३६ पुरुष र ५१ महिला रहेका छन्। सहभागीहरूले तालिमलाई उपयोगी र व्यवहारिक भएको प्रतिक्रिया दिँदै सिकेको ज्ञान तथा सीप दैनिक जीवनमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

तालिम सत्रहरू कोशी प्रदेश सरकार अन्तर्गत जलसिंचाइ तथा ऊर्जा मन्त्रालयका संसाधन व्यक्ति केदार खतिवडा र मोहन श्रेष्ठको सहजीकरणमा सञ्चालन भएको थियो। उनीहरूले फोहोर व्यवस्थापनका प्राविधिक पक्ष, राष्ट्रिय नीति तथा स्थानीय तहको भूमिकाबारे विस्तृत जानकारी दिएका थिए।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका वातावरण तथा विपद् महाशाखा प्रमुख पुष्प नारायण चौधरीको उपस्थिति रहेको थियो। उनले यस्ता तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गर्दै स्थानीय तहमा स्वच्छता र स्रोत व्यवस्थापनका लागि यस्ता पहल निरन्तर आवश्यक रहेको बताए।
त्यसैगरी, व्यावसायिक प्रशिक्षण केन्द्र इटहरीका अधिकृत आशोक साहले प्लास्टिक पुनर्चक्रणसम्बन्धी व्यावसायिक सीपको प्रशिक्षण दिएका थिए। यस प्रकारका तालिमले नगरको फोहोर व्यवस्थापन प्रणाली सुदृढ बनाउँदै स्थानीय सहभागिता, रोजगारी सिर्जना र प्लास्टिक प्रदूषण नियन्त्रणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
इटहरी उपमहानगरपालिका र क्लिन अप नेपालजस्ता संस्थाहरूको सहकार्यले स्थानीय तहबाटै दिगो विकासको आधार तयार हुँदै गएको आयोजकहरूको भनाइ छ। भविष्यमा यस्ता कार्यक्रमहरू अन्य नगरपालिकामा समेत विस्तार गर्ने सम्भावना रहेको बताइएको छ।



233 पटक हेरिएको 

