कोशी प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन

  वास खबर सम्बाददाता  263 पटक हेरिएको

विराटनगर : कोशी प्रदेशमा जलवायु परिवर्तन, वातावरणीय संरक्षण र सामाजिक न्यायका सवालमा एकीकृत आवाज निर्माण गर्ने उद्देश्य सहित प्रदेशस्तरीय ‘जलवायु कार्य र न्याय सञ्जाल’ गठन गरिएको छ।

सञ्जालको संयोजकमा लखन लाल साह चयन भएका छन्। सदस्यहरूमा चन्द्रमणि गुरागाईं, किरण घिमिरे, रक्षा सिंह, लोक बहादुर बिष्ट, इन्द्र माया विश्वकर्मा, सुजाता कुमारी देव, अनिता खतिवडा, जामुना कोईराला सिग्देल, मालती विश्वकर्मा र सुमन कार्की रहेका छन्।

क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को समन्वयमा गठन भएको यस सञ्जालले प्रदेशभर क्रियाशील सामाजिक संघसंस्था, अभियन्ता तथा सरोकारवालाहरूलाई साझा मञ्चमा आबद्ध गर्दै जलवायु कार्य र न्यायका मुद्दामा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म प्रभावकारी भूमिका खेल्ने लक्ष्य लिएको छ।

सञ्जालले जलवायु परिवर्तनका बढ्दो असर, वातावरणीय प्रदूषण, अव्यवस्थित फोहोर व्यवस्थापन, स्वच्छ हावाको अभाव तथा वातावरणीय अन्यायका विषयलाई प्राथमिकतामा राखेर वकालत गर्ने बताइएको छ। साथै, वातावरणीय संरक्षण, दिगो फोहोर व्यवस्थापन, स्वच्छ हावा प्रवद्र्धन र जलवायु न्यायसँग सम्बन्धित गतिविधिहरूलाई स्थानीय तहदेखि प्रदेश स्तरसम्म प्रवद्र्धन गरिने जनाइएको छ।

सञ्जालमा आबद्ध सदस्य संस्थाहरूको मूल कार्यक्षेत्र फरक–फरक भए पनि उनीहरूका गतिविधिमा वातावरणीय सचेतना र जलवायु जिम्मेवारीलाई समेट्दै सहकार्य र समन्वय बढाइने बताइएको छ। साझा अभियान सञ्चालन गर्ने र समुदायस्तरमा जलवायु सचेतना विस्तार गर्ने सञ्जालको लक्ष्य रहेको जनाइएको छ।

बैठक क्लिन अप नेपालका कार्यकारी निर्देशक रबिन्द्र लामिछानेले जलवायु संकटको वर्तमान अवस्थामा यस्ता सञ्जालहरूको आवश्यकता झनै बढ्दै गएको बताउनुभयो। उहाँले कोशी प्रदेशमा प्रभावकारी जलवायु अभियानको सुरुवातका रूपमा यस सञ्जाललाई महत्वपूर्ण कदम भएको बताउनुभयो।

सञ्जालले आगामी दिनमा नीति वकालत, क्षमता अभिवृद्धि, जनचेतना अभियान तथा सहकार्यमा आधारित कार्यक्रम सञ्चालन गर्दै स्वच्छ, हरित र न्यायपूर्ण कोशी प्रदेश निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार