
रुकुम पश्चिम : सबैको लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाले कर्णाली प्रदेशका आयोजना कार्यरत पालिकाका WASH युनिटका कर्मचारीहरूलाई ४ दिने सघन विस्तारित खानेपानी सुरक्षा योजना (Extended Water Safety Plan – WSP+++) तालिम दिईएको छ ।
ग्रामीण समुदायमा सुरक्षित, भरपर्दो तथा दिगो खानेपानी र सरसफाइ सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विस्तारित खानेपानी सुरक्षा योजना सम्बन्धी तालिम दिईएको हो।
रुकुम पश्चिमको मुसिकोटमा सम्पन्न तालिममा कर्णाली प्रदेशको १० वटा स्थानीय तहका ३८ जना WASH युनिटका कर्मचारीहरूको सहभागिता थियो।

तालिमले परम्परागत खानेपानी सुरक्षा योजना भन्दा अघि बढ्दै जोखिममा आधारित, सुशासनमुखी, जलवायु–संवेदनशील तथा समावेशी सिद्धान्तमा आधारित उपकरण मार्फत खानेपानी प्रणालीलाई राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुरूप व्यवस्थापन गर्ने क्षमता विकासमा जोड दिएको थियो।
तालिममा राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ ले निर्धारण गरेका पारामितिहरु सुनिश्चितता गर्ने लक्ष्य सहित WSP+++ उपकरणहरूको प्रयोगात्मक अभ्यास गराइएको थियो।

विस्तारित खानेपानी सुरक्षा योजनाका प्रमुख विषयवस्तुहरू :
√ मुहानदेखि धारासम्म सम्पूर्ण प्रणालीको समग्र मूल्याङ्कन
√ जोखिम पहिचान, प्राथमिकता निर्धारण तथा जलवायु जोखिम परीक्षण
√ राष्ट्रिय पानी गुणस्तर सूचकसँग समन्वयित सञ्चालन अनुगमन योजना
√ पानी परीक्षण तथा प्रमाणीकरण प्रक्रिया
√ लागतसहित सुधार तथा सच्याउने कार्ययोजना
√ मुहान संरक्षण तथा जलवायु अनुकूलन उपाय
√ स्थानीय तहका WASH युनिट र उपभोक्ता समितिहरूबीच स्पष्ट संस्थागत भूमिका निर्धारण
√ प्राविधिक तथा सामाजिक जनशक्तिको एकीकृत परिचालन
√ सुशासन, अभिलेखीकरण तथा मापदण्ड अनुपालन अनुगमन संयन्त्र
सुस्वाका अनुसार विस्तारित खानेपानी सुरक्षा योजना केवल तालिम प्याकेज मात्र नभई खानेपानी प्रणालीको दिगोपन, कार्यक्षमता र जलवायु उत्थानशीलता सुनिश्चित गर्ने एक प्रभावकारी उपकरण हो। यसले दीर्घकालीन दिगोपन, सेवा विश्वसनीयता, जोखिम न्यूनीकरण, संस्थागत उत्तरदायित्व तथा राष्ट्रिय मापदण्ड अनुपालनलाई थप मजबुत बनाउँछ।

तालिमले ग्रामीण क्षेत्रमा पूर्वाधार निर्माणमा मात्र सीमित नभई सुरक्षित रूपमा व्यवस्थापित, दिगो तथा जलवायु–उत्थानशील खानेपानी सेवा सुनिश्चित गर्ने स्पष्ट सन्देश दिएको छ। सुदृढ बनाइएका खानेपानी प्रणालीहरूले भोलिका लागि अझ सुरक्षित, भरपर्दो र जलवायु उत्थानशील खानेपानी सेवा प्रवाह सुनिश्चित गर्ने विश्वास लिइएको छ।



355 पटक हेरिएको 

