सुरक्षित खानेपानी प्रणालीको प्रस्थान बिन्दु इन्टेक के हो ? कसरी बनाउने ?

  वास खबर समाचारदाता  391 पटक हेरिएको

जाप्ला – जोगीधारा खानेपानीको इन्टेक

काठमाडौ : खानेपानी आपूर्ति प्रणालीको सुरुवात बिन्दु नै इन्टेक हो। मुहान वा खोलाबाट पानी संकलन गरी वितरण प्रणालीतर्फ पठाउने संरचना भएकाले यसको स्थान चयन र निर्माण प्रक्रिया अत्यन्त संवेदनशील र प्राविधिक विषय हो।

यहीँबाट पानी संकलन हुन्छ, यहीँबाट पाइप मार्फत बस्तीमा यात्रा सुरु हुन्छ। यदि इन्टेक गलत ठाउँमा बनाइयो भने, पूरै प्रणाली असफल हुन सक्छ। त्यसैले इन्टेक निर्माण गर्दा भू–प्राविधिक, वातावरणीय तथा सामाजिक पक्षलाई समग्र रूपमा विचार गर्न आवश्यक हुन्छ।

इन्टेक मुख्यतः दुई प्रकारका हुन्छन्, स्प्रिङ इन्टेक (Spring Intake), मुहानबाट निस्कने पानी संकलन गर्न र स्ट्रिम इन्टेक (Stream Intake) खोला वा सतही स्रोतबाट पानी लिन बनाईन्छ। स्रोतको प्रकृति अनुसार डिजाइन फरक भए पनि स्थान छनोटका आधारभूत सिद्धान्त समान हुन्छन्।

इन्टेक बनाउने उपयुक्त स्थान

१. पानीको गुणस्तर सुरक्षित हुने स्थान

इन्टेक सधैं प्रदूषण स्रोतभन्दा माथिल्लो भागमा बनाइनुपर्छ। बस्ती, शौचालय, गोठ, फोहोर व्यवस्थापन स्थल, कृषि रसायन प्रयोग हुने खेत आदिबाट कम्तीमा ३० मिटर वा सोभन्दा बढी दूरी कायम गर्नु उपयुक्त मानिन्छ। यसले इकोली जस्ता जीवाणुजन्य प्रदूषणको जोखिम घटाउँने सबैका लागि खानेपानी, सरसफाइ र स्वच्छता आयोजना (सुस्वा) का वास प्राविधिक धिरेन्द्र बोगटीले बताउनुभयो।

२. वर्षभरि पर्याप्त बहाव

स्रोतको डिस्चार्ज (पानीको बहाव दर) वर्षायाममा मात्र होइन, सुख्खा मौसममा पनि पर्याप्त हुनुपर्छ। डिजाइन गर्दा न्यूनतम बहाव (lean season flow) का आधारमा गणना गरिन्छ, ताकि वर्षभरि निरन्तर सेवा दिन सकियोस्।

३. बाढी र पहिरोको जोखिम न्यून भएको स्थान

स्ट्रिम इन्टेक बनाउँदा बाढीको उच्चतम सतह (HFL) को अध्ययन अनिवार्य हुन्छ। संरचना बग्ने सम्भावना नभएको स्थिर किनार वा चट्टानी भाग रोज्नुपर्छ। पहिरो झर्ने डाँडामुनि इन्टेक बनाउँदा दीर्घकालीन जोखिम बढ्ने सुस्वाका वास प्राविधिक बोगटीले बताउनुभयो।।

४. स्थिर भू–संरचना

चट्टानी वा कडा जमिन भएको स्थान उपयुक्त हुन्छ। कमजोर माटोमा संरचना बस्दा चिरा पर्न, धसिन वा पानी चुहिने समस्या आउन सक्छ।

हेर्नुहोस्, यो छोटो भिडियो : 

इन्टेक कसरी बनाउने?

१. स्रोत संरक्षणबाट सुरु

इन्टेक निर्माणको पहिलो चरण स्रोत संरक्षण हो। मुहान वरिपरि तारबार, पशु प्रवेश निषेध, पानी सोस्ने क्षेत्र (recharge area) मा वृक्षरोपण र नाला व्यवस्थापन जस्ता उपाय अपनाइन्छ। यसले पानीको गुणस्तर र दीर्घकालीन उपलब्धता सुनिश्चित गर्छ।

२. संकलन कक्ष (Collection Chamber) निर्माण

ढुंगा, सिमेन्ट र बालुवाबाट पानी संकलन गर्ने कक्ष बनाइन्छ।

  • • तलतिर सेडिमेन्ट बस्न मिल्ने खाली भाग राखिन्छ।

  • • माथिल्लो भाग ढक्कनले छोपिन्छ, ताकि बाहिरी फोहोर नपसुन्।

  • •  भित्रको प्लास्टर पानी चुहावट रोक्ने गरी राम्रोसँग गरिन्छ।

३. ओभरफ्लो र स्काउर व्यवस्था

अतिरिक्त पानी बाहिर निकाल्न ओभरफ्लो पाइप जडान गरिन्छ।
तल जमेको माटो–बालुवा सफा गर्न स्काउर भल्भ राखिन्छ। यसले नियमित मर्मत सजिलो बनाउँछ।

४. पाइप जडान र सुरक्षा

मुख्य वितरण पाइप इन्टेकको सफा भागबाट जडान गरिन्छ। जडान गर्दा लिकेज रोक्न विशेष ध्यान दिनुपर्छ। वरिपरि नाली निर्माण गरी वर्षाको पानी संरचनाभित्र पस्न नदिने व्यवस्था गरिन्छ।

डिजाइन गर्दा ध्यान दिनुपर्ने प्राविधिक पक्ष

  • • स्रोतको न्यूनतम बहाव मापन

  • • सेवा जनसंख्या र प्रतिव्यक्ति पानी आवश्यकता (LPCD)

  • • भविष्यको जनसंख्या वृद्धिदर

  • • गुरुत्वाकर्षण प्रणाली हो वा पम्पिङ प्रणाली

  • • नियमित मर्मत सम्भारको पहुँच

यी पक्षलाई बेवास्ता गर्दा आयोजना अल्पकालीन बन्न सक्छ।

समुदायको सहभागिता र दिगोपना

इन्टेक निर्माणको काम प्राविधिक कार्य मात्र नभई यो सामुदायिक सहभागिता र स्वामित्वको विषय हो। उपभोक्ता समिति गठन, नियमित सरसफाइ तालिका, स्रोत संरक्षण अभियान र पारदर्शी व्यवस्थापन प्रणालीले इन्टेकलाई दिगो बनाउँछ। विशेषगरी महिलाको अर्थपूर्ण सहभागिता निर्णय प्रक्रियामा सुनिश्चित गर्नु आवश्यक छ।

इन्टेक खानेपानी प्रणालीको मुटु हो। सही स्थान छनोट, वैज्ञानिक डिजाइन, गुणस्तरीय निर्माण र समुदायको सक्रिय सहभागिता भएमा इन्टेकले दशकौंसम्म सुरक्षित पानी आपूर्ति गर्न सक्छ। तर हतारमा गरिएको निर्णय वा कमजोर निर्माणले स्रोत सुक्ने, संरचना भत्किने वा पानी दूषित हुने जोखिम बढाउँछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार