
सोलुखुम्बु : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले प्रत्येक नागरिकको घरमा स्वच्छ खानेपानी पुर्याउने तथा आगलागीजन्य विपद् व्यवस्थापनलाई सुदृढ बनाउने लक्ष्य सहित खरिखोला क्षेत्रमा बृहत योजना सञ्चालन गरिरहेको छ। उक्त योजना अन्तर्गत वडा नं. १ मा दुईवटा खानेपानी योजना निर्माणाधीन छन्।
गाउँपालिकाले साझेदार संस्थासँगको सहकार्यमा खरिखोला खानेपानी योजना (स्किम ४,६) र (स्किम ७,८) सञ्चालन गरिरहेको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष मिङमा शेर्पाले जानकारी दिनुभयो।
अध्यक्ष शेर्पाका अनुसार खरिखोला खानेपानी योजना (स्किम ४,६) अन्तर्गत गाउँपालिकाबाट ७८ लाख ९८ हजार ९४९ रुपैयाँ ९३ पैसा विनियोजन गरिएको छ। यसैगरी Action for Nepal र Association Himalayan Eye Project बाट ७९ लाख १५ हजार ५४४ रुपैयाँ ८५ पैसा बराबरको सहयोग प्राप्त भएको छ। स्थानीय उपभोक्ता समितिको ४ लाख ६९ हजार ३९५ रुपैयाँ ४७ पैसाको श्रमदानसहित उक्त योजनाको कुल लागत १ करोड ६२ लाख ८३ हजार ८९० रुपैयाँ पुगेको छ।

योजना चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको अध्यक्ष शेर्पाले जानकारी गराउनुभयो।
त्यसैगरी, खरिखोला खानेपानी योजना (स्किम ७,८) अन्तर्गत गाउँपालिकाबाट ३६ लाख ६ हजार ८८३ रुपैयाँ, Action Kharikhola Nepal बाट ४६ लाख ६२ हजार ३३३ रुपैयाँ तथा स्थानीय उपभोक्ता समितिको ४ लाख ७५ हजार ४८३ रुपैयाँ बराबरको श्रमदानसहित कुल ८७ लाख ४४ हजार ६९९ रुपैयाँ लागतमा निर्माण कार्य भइरहेको छ।
यसअघि खरिखोलामा सुरु भई अधूरा रहेका योजनाहरू सम्पन्न गर्न गाउँपालिकाले थप १५ लाख रुपैयाँ विनियोजन गरी काम अगाडि बढाइरहेको छ।
गाउँपालिकाले खरिखोला क्षेत्रको समग्र खानेपानी प्रणालीलाई एकीकृत रूपमा विकास गर्ने लक्ष्य राख्दै चालु आर्थिक वर्षभित्र सम्पूर्ण कार्य सम्पन्न गर्ने गरी तीव्र गतिमा काम अघि बढाइरहेको जनाएको छ।

फोटोहरु : मिङमा शेर्पा


243 पटक हेरिएको 

