आज विश्व पानी दिवस: “जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ” नाराका साथ मनाईदै

  वास खबर समाचारदाता  343 पटक हेरिएको

काठमाडौं : प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर मनाइने विश्व पानी दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक  कार्यक्रम गरी मनाइँदैछ। संयुक्त राष्ट्रसङ्घको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महासभाले विश्व पानी दिवसको घोषणा गरेको हो।

सन् १९९२ मा एजेण्डा २१ मा समाहित गरिएको पानी दिवसको रुपरेखालाई आत्मसाथ गर्दै सन् १९९३ देखि मार्च २२ तारिखका दिन विश्वभर यो दिवस मनाउन थालिएको थियो।
यस वर्षको नारा Where water flows, equality growsअर्थात “जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ”  तय गरिएको छ। यो नाराले पानीको पहुँच र सामाजिक समानताबीचको गहिरो सम्बन्धलाई उजागर गरेको छ।

मानव जीवनको आधारभूत आवश्यकता मानिने पानीमा सबैको समान पहुँच अझै सुनिश्चित हुन सकेको छैन। विश्वका धेरै विकासशील तथा अविकसित देशहरूमा लाखौं मानिस सुरक्षित पिउने पानीबाट वञ्चित छन्। विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा पानीको अभावले दैनिक जीवनमा गम्भीर प्रभाव पारिरहेको छ।

पानी संकटको असर सबैमा समान नभएको तथ्य पनि यस अवसरमा पुनः स्मरण गरिएको छ। महिलाहरू र बालिकाहरूले पानी ल्याउन दैनिक घण्टौं समय खर्च गर्नुपर्दा उनीहरूको शिक्षा, स्वास्थ्य र आर्थिक अवसरहरू प्रभावित हुने गरेका छन्। असुरक्षित पानीका कारण फैलिने रोगको हेरचाहको जिम्मेवारी पनि प्रायः महिलामाथि नै पर्ने गरेको छ।

नेपालमा पनि खानेपानी तथा सरसफाइ क्षेत्रमा उल्लेखनीय प्रगति भए तापनि पहाडी तथा दुर्गम क्षेत्रमा अझै चुनौती कायमै छन्। धेरै ठाउँमा महिलाहरू टाढाबाट पानी बोकेर ल्याउन बाध्य छन्, जसले उनीहरूको स्वास्थ्यमा असर पार्नुका साथै बालिकाहरूको विद्यालय उपस्थितिमा समेत नकारात्मक प्रभाव पार्छ।

यसै बीच, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले पानी, सरसफाइ र स्वच्छता (WASH) क्षेत्रमा सुधारका लागि कार्यक्रमहरू सञ्चालन गरिरहेका छन्। सुरक्षित पानीको पहुँचलाई मानव अधिकारका रूपमा स्थापित गर्दै समानता र समावेशीतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने आवश्यकता विज्ञहरूले औंल्याएका छन्।

जलवायु परिवर्तनका कारण अनियमित वर्षा, सुख्खा र बाढी जस्ता जोखिम बढ्दै जाँदा पानी स्रोतमा थप दबाब परेको छ। यस्तो अवस्थामा दिगो, समावेशी र उत्थानशील पानी व्यवस्थापन प्रणालीको विकास अपरिहार्य बन्दै गएको छ।

विश्व पानी दिवसको अवसरमा सरोकारवाला निकायहरूले पानीको संरक्षण, समान पहुँच सुनिश्चितता र लैङ्गिक समानताको प्रवर्द्धनका लागि संयुक्त प्रयासको खाँचो औंल्याएका छन्।

हालै प्रकाशित  नेपाल बहु–सूचक समूह सर्वेक्षण (Nepal Multiple Cluster Survey (NMICS) प्रतिवेदन 2025 अनुसार सुरक्षित खानेपानी सेवामा ४७ प्रतिशत नागरिकको पहुँच पुगेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार