
गोरखा : पृथ्वीनारायण साना सहरी खानेपानी संस्थामा अनियमितता र बेथिति देखिएको भन्दै अब गोरखा नगरपालिका आफैंले संचालन गर्ने भएको छ । गोरखा सदरमुकाम क्षेत्रमा खानेपानी वितरण गर्दै आएको साना सहरीको नियमित पानी व्यवस्थापनमा समस्या देखिएपछि गोरखा नगरपालिकाले आफैंले संचालन गर्ने निर्णय गरेको हो ।
गोरखा नगरपालिका खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्ड मार्फत आयोजना संचालन गरिने गोरखा नगरपालिकाका प्रमुख कृष्ण रानाले बताउनुभयो । चैत ५ गते बसेको बोर्ड बैठकले आयोजना संचालनको निर्णय गरेको हो । साना सहरीको पानी अपुग भएपछि गोरखा सदरमुकाममा खानेपानी पर्याप्त पुर्याउन दरौदी लिफ्टिङ खानेपानी आयोजनाको पनि निर्माण सम्पन्न भइसकेको छ ।
दरौदी लिफ्टिङ खानेपानी आयोजना झण्डै ४० करोड रुपैयाा लगानीमा निर्माण भएको हो । दरौदीले छुट्टै उपभोक्तालाई नभई नगरभित्रका अन्य आयोजनालाई पानी वितरण गर्नेछ । सदरमुकाम लगायत आसपासका क्षेत्रमा पानी वितरण गर्दै आएका २१ वटा खानेपानी उपभोक्ता समिति मार्फत पानी वितरण गर्ने योजनाका साथ आयोजना निर्माण भएको हो ।
‘दरौदी लिफ्टिङले १२ देखि १५ लाख लिटरसम्म पानी दिन सक्ने क्षमताको छ,’ रानाले भन्नुभयो, ‘पर्याप्त हुादा हुादै साना सहरीले दरौदीको पानी अड्कलेर लिादा उपभोक्ताले पर्याप्त पानी पाएनन् ।’ दुवै खानेपानी आयोजना संचालन हुँदा समेत सदरमुकाम क्षेत्रमा नियमित पानीको व्यवस्थापनमा समस्या हुँदै आएको रानाले बताउनुभयो । ‘पृथ्वीनारायण साना सहरीमा यस भन्दा अगाडिदेखि नै अनियमितता र बेथिति देखिएको छ, यसको न्यूनीकरण तथा नियन्त्रण गर्न पनि स्थानीय सरकारले जिम्मा लिनुपर्ने अवस्था आयो,’ उहाँले भन्नुभयो।
बोर्डले पृथ्वीनारायण साना सहरी आयोजना संचालनपछि अहिलेको समिति स्वतः खारेज हुने पनि नगरपालिकाले जनाएको छ । ‘सम्पूर्ण प्रक्रिया पूरा गरेर गोरखा नगरपालिकाको खानेपानी तथा सरसफाइ व्यवस्थापन बोर्डले नै सम्पूर्ण जिम्मेवारी बहन गर्ने गरी उक्त आयोजना संचालन हुनेछ,’ रानाले भन्नुभयो।
यसबारे समितिलाई आइतबार पत्राचार गरेको र जिल्ला प्रशासन, खानेपानी विभाग लगायतका सरोकार राख्ने निकायलाई जानकारी गराउने काम चलिरहेको उहाँले बताउनुभयो। साना सहरीमा देखिएको अनियमितता र बेथितिका बारे छानबिन गरेर कारबाही प्रक्रिया अघि बढाउने पनि बोर्डको तयारी छ ।
साना सहरी खानेपानीमा देखिएको अनियमितताबारे अख्तियारमा समेत उजुरी परेको थियो । अख्तियारले छानबिन गरेर कारबाहीका लागि पनि नगरपालिकालाई पत्राचार गरेको छ ।


217 पटक हेरिएको 

