काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुँदै, सर्कुलर अर्थतन्त्रका उद्यम एउटै मञ्चमा

  वास खबर सम्बाददाता  150 पटक हेरिएको

काठमाडौं : अन्तर्राष्ट्रिय शून्य फोहोर दिवसको अवसर पारेर काठमाडौंमा ‘जिरो वेस्ट एक्सिबिशन २०२६’ आयोजना हुने भएको छ।

Rotary International District 3292 Nepal-Bhutan को अगुवाइमा विभिन्न रोटरी, रोटर्याक्ट तथा इन्टर्याक्ट क्लबहरूको संयुक्त आयोजनामा चैत १६ र १७ गते (मार्च ३०–३१) नेपाल कला परिषद् (NAFA), नक्सालमा प्रदर्शनी सञ्चालन गरिनेछ।

कार्यक्रमलाई शहरी विकास मन्त्रालय अन्तर्गत शहरी विकास तथा भवन निर्माण विभाग, United Nations Global Compact Network Nepal तथा Environmental Camps for Conservation Awareness (ECCA) ले समर्थन गरेका छन् भने HECAF 360 र Blue Waste to Value सहकार्य साझेदारका रूपमा रहेका छन्।

“परिवर्तन आफैं बनौं, फोहोर घटाऔं, पुनःप्रयोग गरौं र पुनर्चक्रण अपनाऔं” भन्ने सन्देश सहित आयोजना हुन लागेको प्रदर्शनीले दिगो जीवनशैली प्रवर्द्धन र स्वच्छ वातावरण निर्माणमा नागरिक सहभागिता बढाउने लक्ष्य लिएको आयोजकले जनाएको छ। कार्यक्रम बिहान ११ बजेदेखि सञ्चालन हुनेछ र प्रवेश निःशुल्क रहनेछ।

प्रदर्शनीमा फोहोर व्यवस्थापन, पुनः प्रयोग (Reuse), पुनर्चक्रण (Recycle) तथा स्तरोन्नत पुनः प्रयोग (Upcycle) सम्बन्धी नवीन प्रविधि, अभ्यास र उद्यमहरू प्रस्तुत गरिनेछन्। यसले स्रोतको दिगो उपयोग, फोहोर न्यूनीकरण तथा सर्कुलर अर्थतन्त्रको अवधारणालाई व्यवहारमा उतार्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। कार्यक्रमको उद्घाटन रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका गभर्नर रोटेरियन विनोद कोइरालाबाट हुने बताइएको छ।

प्रदर्शनीको दोस्रो दिन “बियोन्ड द बिनः जिरो वेस्ट भविष्यका लागि प्रणाली पुनःडिजाइन” शीर्षकमा विशेष प्यानल छलफल पनि आयोजना गरिनेछ। उक्त छलफलमा नीति निर्माता, निजी क्षेत्र, उद्यमी तथा वातावरणविद्हरूको सहभागिता रहनेछ। कार्यक्रममा सहरी विकास मन्त्रालयका सहसचिव नवराज प्याकुरेल, “ब्लु वेस्ट टु भ्यालु” का सह-संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत नवीन विकास महर्जन, ग्लोबल कम्प्याक्ट नेपाल-संयुक्त राष्ट्रसंघका अध्यक्ष समीर थापा, डब्लुएफपीसीओकी अध्यक्ष विष्णु थकाली तथा प्रकृति रिसोर्ट एण्ड अर्गानिक फार्मका अध्यक्ष अरुण श्रेष्ठ प्यानलिस्टका रूपमा सहभागी हुनेछन्। सत्रको अध्यक्षता विभूति मान सिंहले गर्नेछन् भने सञ्चालन डा. दिनेशराज मानन्धरले गर्नेछन्। कार्यक्रममा मिस नेपाल २०२३ तथा वातावरण अभियन्ता श्रीच्छा प्रधानको प्रस्तुति पनि रहने जनाइएको छ।

आयोजकका अनुसार प्रदर्शनीमा ४०/५० वटा रिसाइकल तथा अपसाइकल उद्यमका स्टल, विभिन्न संस्थाका वातावरणीय बुथ, DIY प्रदर्शन, अडियो, भिजुअल प्रस्तुतीकरण, प्यानल छलफल तथा सहकार्य गतिविधिहरू समावेश हुनेछन्।

वातावरण तथा फोहोर व्यवस्थापन क्षेत्रमा बढ्दो चुनौती, अनियन्त्रित फोहोर उत्पादन, ल्यान्डफिलमा निर्भरता, प्लास्टिक प्रदूषण तथा स्रोतको दुरुपयोगलाई सम्बोधन गर्न यस्ता बहुपक्षीय संवाद र प्रदर्शनी महत्वपूर्ण हुने आयोजकको विश्वास छ। विशेष गरी सहरी क्षेत्रमा बढ्दो फोहोर संकट न्यूनीकरणका लागि सामूहिक पहल आवश्यक रहेको सन्देश कार्यक्रमले प्रवाह गर्नेछ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार