अर्बन डबली : दिगो भूमिगत पानी व्यवस्थापनका विविध आयाममाथि गहन छलफल

  वास खबर सम्बाददाता  120 पटक हेरिएको

ललितपुर : “नेपालको तराई भुभागमा भूमिगत पानीको समस्या सम्बोधन” विषयमा केन्द्रित अर्बन डबलीको तेस्रो संस्करणमा विज्ञ, नीतिनिर्माता तथा सरोकारवालाहरूको सहभागितामा दिगो भूमिगत पानी व्यवस्थापनका विविध आयाममाथि गहन छलफल गरिएको छ।

कार्यक्रममा एकीकृत शहरी विकास केन्द्र (CIUD) की कार्यकारी निर्देशक रिजा जोशीले अर्बन डबलीलाई पानी तथा शहरी विकासका सवालमा नियमित संवादको प्रभावकारी मासिक मञ्चका रूपमा विकास गरिएको बताउनुभयो। हेल्भेटास नेपालका प्रतिनिधि बद्री मानन्धरले नेपालमा जल सुशासन र दिगो विकासका क्षेत्रमा संस्थाले दशकौँदेखि गर्दै आएको योगदानबारे धारणा राख्नुभयो।

कार्यक्रममा जलभूवैज्ञानिक सुरेन्द्रराज श्रेष्ठले तराई क्षेत्रको भूजल अवस्थाबारे विस्तृत प्राविधिक प्रस्तुति दिनुभएको थियो।

उहाँले सतही र गहिरा जलभण्डार, स्प्रिङलाइन तथा भूमिगत बाह्य प्रवाहसहितका भूजल प्रणाली, मधेश प्रदेशमा बढ्दो भूजल दबाब, बर्दिया लगायत तराईका जिल्लाहरूमा अत्यधिक दोहन र अन्तर जलाधार स्थानान्तरणका उदाहरणहरू प्रस्तुत गर्नुभयो।

साथै ट्युबवेल असफलता, प्रदूषण, इन्फिल्ट्रेसन समस्या, पुनर्भरणका सीमितता तथा हिउँदे वर्षा, हिमपातको स्वरूप र त्यसले सिँचाइ तथा खानेपानीमा पार्ने असरबारे समेत प्रकाश पार्नुभयो।

उहाँले  भूमिगत पानी पुनर्भरणको समय व्यवस्थापन अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै व्यवस्थित भूमिगत पानी पुनर्भरण (Managed Aquifer Recharge), स्थान विशेष अनुसार पुनर्भरण संरचना, इन्फिल्ट्रेसन ट्यांकी तथा ठाडो परकुलेसनजस्ता प्राविधिक उपायहरू आवश्यक रहेको बताउनुभयो।

एकीकृत शहरी विकास केन्द्र (CIUD) का कार्यक्रम निर्देशक सुदर्शन राजभण्डारीले सहजीकरण गर्नुभएको प्यानल छलफलमा पूर्वमन्त्री गणेश शाह सहित विभिन्न विज्ञहरूले भूमिगत पानी व्यवस्थापनका सामाजिक, वातावरणीय तथा नीतिगत पक्षहरूमा विचार राख्नुभएको थियो।

छलफलका क्रममा अत्यधिक दोहन, जलभण्डार परित्याग, सतही र गहिरा एक्वीफरबारे रहेका भ्रम, ट्युबवेल सञ्चालनका चुनौती, जलस्तर अनुगमन र आर्सेनिकजस्ता प्रदूषण जोखिमबारे चर्चा गरिएको थियो। नेपाल र भारतका प्रमाणमा आधारित अभ्यासहरू, विशेषगरी इन्फिल्ट्रेसन पोखरी र लेटरल रिचार्ज प्रणालीका अनुभवहरू पनि साझा गरिएका थिए।

सहभागीहरूले प्रश्नोत्तर सत्रमा विद्यमान पानी प्रणालीको प्राविधिक दक्षता, जलवायु उत्थानशील जल व्यवस्थापन, सतही भूजल पुनर्भरणका लागि मोडलिङ तथा अनुगमन अध्ययन, समुदायको सचेतना र स्थानीय तहको भूमिकाबारे जिज्ञासा राखेका थिए। जापान, भारत तथा नेपालको चुरे–शिवालिक क्षेत्रमा अपनाइएका रिटेन्सन पोखरी, कृत्रिम पर्खाल तथा managed aquifer recharge जस्ता नवीन अभ्यासहरू पनि छलफलमा उठाइएका थिए।

कार्यक्रमको समापन गर्दै कार्यकारी निर्देशक रिजा जोशीले भूमिगत पानी व्यवस्थापनलाई नीति निर्माणमा प्राथमिकता दिन, अनुगमन र नियमन संयन्त्रलाई सुदृढ बनाउन तथा जलवायु अनुकूल समाधानहरूलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

अर्बन डबली एकीकृत शहरी विकास केन्द्र (CIUD) र हेल्भेटास नेपालद्वारा संयुक्त रूपमा आयोजना हुँदै आएको छ। जनवरीदेखि मासिक रूपमा सञ्चालन हुँदै आएको अर्बन अर्बन डबलीले तराई क्षेत्रमा बढ्दो पानी संकट र भूजल दबाब समाधानका लागि बहुपक्षीय संवाद, ज्ञान आदानप्रदान र कार्यान्वयन योग्य समाधान खोज्ने प्रभावकारी मञ्चका रूपमा आफ्नो भूमिका अझ सुदृढ बनाउँदै लगेको आयोजकले जनाएको छ।

कार्यक्रमका थप फोटाहरु : 

फोटाहरु : स्नेह सुवेदी/CIUD


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार