
घोराही : दाङको घोराही उपमहानगरपालिका १० फनपार्कमा आजदेखि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको क्षमता अभिवृद्धि तालिम तथा लुम्बिनी प्रदेश स्तरीय भेला सुरु भएको छ । राष्ट्रिय साना सहरी तथा सरसफाई उपभक्ता महासंघको आयोजनामा तालिम तथा प्रदेश स्तरीय भेला एकैसाथ सुरु गरिएको हो।
तालिमको उदघाटन सत्रमा राष्ट्रिय खानेपानी, सरसफाइ अनुसन्धान, नवप्रवर्तन तथा क्षमता अभिवृद्धि केन्द्रका कार्यकारी निर्देशक ई.राम कुमार श्रेष्ठले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरुको क्षमता अभिवृद्धि तथा व्यवस्थापन तालिमलाई केन्द्रले निरन्तरता दिने बताउनुभयो। उहाँले यस अघि पनि एक चरणको तालिम सञ्चालन गरिसकेको जानकारी गराउँदै आगामी कार्यक्रमहरुमा पनि राखिएको जानकारी गराउनुभयो।
कार्यकारी निर्देशक श्रेष्ठले नागरिकलाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनु भयो। कार्यक्रमको प्रमुख अतिथि समेत रहेका श्रेष्ठले नेपालको संविधानले प्रत्याभूत गरेको खानेपानीको मौलिक अधिकार कार्यान्वयन गर्न मन्त्रालय, विभाग तथा स्थानीय तह बीच समन्वय आवश्यक रहेको बताउनुभयो ।
उहाँले तालिमका सहभागीहरुलाई प्रभावकारी व्यवस्थापन, वित्तीय योजना र सेवा गुणस्तर सुधारका तरिकाहरू बुझ्नैपर्ने बताउनुभयो।
तालिमको सभापति समेत रहेका राष्ट्रिय साना सहरी तथा सरसफाई उपभक्ता महासंघका केन्द्रीय अध्यक्ष खेमराज वलीले सरकारले खानेपानी माथि विभिन्न नाममा थोपर्दै आएको करका विरुद्ध उपभोक्ता संगठित हुनुको विकल्प नभएको बताउनुभयो । उपभोक्ताहरु संगठित नहुँदा सरकारले खानेपानी माथि करको भारी बोकाउने र अर्को तर्फ स्थानीय तहले खानेपानी संस्थालाई विघटन गरेर जनताको अधिकार खोस्ने प्रयासहरु भइरहेको बताउनुभयो ।
तालिमका सहभागीहरूले उपभोक्ता संस्था सञ्चालनमा आएका चुनौती, समाधानका उपाय र अनुभव साटासाट गर्ने अवसर पाउने छन्। यस कार्यक्रमले स्थानीयस्तरमा खानेपानी तथा सरसफाइ सेवाको पहुँच, गुणस्तर र दिगोपनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
भेलामा प्रदेशका १२ जिल्लाका ८५ वटा खानेपानी उपभोक्ता संस्था र समितिबाट गरेर ३ सय ५० जनाको सहभागिता रहेको छ ।



177 पटक हेरिएको 

