टोल समितिका सदस्यहरुका लागि जैविक कम्पोष्ट मल र कौसी खेती तालिम

  वास खबर समाचारदाता  68 पटक हेरिएको

भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ३ को आयोजनामा टोल विकास समितिका सदस्यहरूका लागि जैविक कम्पोष्ट मल निर्माण तथा कौसी खेती सम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ।

स्थानीयस्तरमै सुरक्षित खाद्य उत्पादन, घरायसी फोहोरको सदुपयोग तथा पोषणयुक्त तरकारी उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।

तालिममा विभिन्न टोल समितिबाट ४० जनाले सहभागिता जनाएका थिए । सहभागीहरूलाई जैविक कम्पोष्ट मल, बोकासी मल, जैविक विषादी निर्माण, बीउ संरक्षण तथा कौसी र करेसाबारी खेती गर्ने तरिका बारे सैद्धान्तिक र प्रयोगात्मक दुवै अभ्यास मार्फत प्रशिक्षण दिइएको वास सहजकर्ता कविता बुढाथोकीले जानकारी दिनुभयो।

तालिमका प्रशिक्षकहरूले घरमै उपलब्ध हुने जैविक सामग्री प्रयोग गरेर कम्पोष्ट मल बनाउने विधि, बोकासी मल तयार गर्ने चरण, बीउबीजन सुरक्षित राख्ने उपाय, करेसाबारी तथा कौसीमा तरकारी उत्पादन गर्ने उपयुक्त प्रविधिबारे विस्तृत जानकारी दिएका थिए। साथै, खानेपानीको उचित व्यवस्थापन गर्दै कौसी खेतीलाई दिगो र उत्पादनमुखी बनाउने उपायहरूबारे पनि छलफल गरिएको थियो।

तालिम समापन कार्यक्रममा वडा सदस्य तथा वास सम्पर्क व्यक्ति शिवराज सुलले यस्ता सीपमूलक कार्यक्रमले समुदायमा आत्मनिर्भरता बढाउने र स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने बताउनुभयो। उहाँले टोल समितिहरू मार्फत सिकेका सीपलाई व्यवहारमा उतारेर घरघरमा जैविक खेती विस्तार गर्न आग्रह गर्नुभयो।

वास सहजकर्ता कविता बुढाथोकीका अनुसार तालिमपछि सहभागीहरूलाई अभ्यासलाई निरन्तरता दिन प्रोत्साहन स्वरूप प्रति व्यक्ति ५ केजी कम्पोष्ट मल समेत वितरण गरिएको छ। उहाँले यस्तो तालिमले घरायसी फोहोर व्यवस्थापन, शहरी कृषि प्रवर्द्धन तथा पोषण सुधारमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

तालिमका सहभागीहरुले तालिमबाट सिकेका सीपलाई घरघरमा प्रयोग गर्दै कौसी र करेसाबारीमा विषादीरहित तरकारी उत्पादन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

फोटोहरु: कविता बुढाथोकी


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार