गोदावरीमा बाहिरबाट ल्याइएको फोहर फाल्ने ट्रीपर नियन्त्रणमा, जरिवाना सहित सरसफाइ गर्न लगाइयो

  वास खबर सम्बाददाता  99 पटक हेरिएको

गोदावरी : ललितपुरको गोदावरी नगरपालिका वडा नं. ५ स्थित लेले भन्ज्यांग क्षेत्रमा अन्यत्रबाट ट्रीपरमा लोड गरी ल्याइएको फोहर फाल्दै गरेको अवस्थामा नगरपालिकाले एक ट्रीपर नियन्त्रणमा लिएको छ।

नगरपालिकाका जनप्रतिनिधि तथा नगर प्रहरीले फोहर फाल्दै गरेको अवस्थामा उक्त ट्रीपर फेला पारी ट्रीपर धनी र चालकलाई नियन्त्रणमा लिई प्रचलित कानुनबमोजिम जरिवाना गरेको जनाएको छ। साथै फालिएको फोहर सम्बन्धित व्यक्तिहरूकै जिम्मेवारीमा संकलन, सरसफाइ तथा उचित व्यवस्थापन गर्न लगाइएको प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी दिनुभयो।

नगरपालिकाका अनुसार पछिल्ला दिनहरूमा नगरक्षेत्रभित्र गाडी तथा मोटरसाइकल प्रयोग गरी सार्वजनिक स्थान, खाली जग्गा तथा खुला क्षेत्रमा फोहर राख्ने, फाल्ने वा थुपार्ने गतिविधि बढिरहेको गुनासो प्राप्त भइरहेको छ। यस्ता गतिविधिले वातावरण, जनस्वास्थ्य र नगरको सौन्दर्यमा प्रतिकूल असर पार्ने भएकाले यस्तो कार्य नगर्न तथा नगराउन सबै सरोकारवालालाई अनुरोध गरिएको छ।

नगरपालिकाले यस्ता गैरकानुनी गतिविधिमा संलग्न पाइएमा कसुरको प्रकृति अनुसार जरिवाना तथा कानुनी सजायसमेत गरिने चेतावनी दिएको छ।

गोदावरी नगरपालिकाले सफा, स्वस्थ र व्यवस्थित नगर निर्माणका लागि सार्वजनिक स्थानमा जथाभावी फोहर फाल्ने कार्य पूर्ण रूपमा रोक्न स्थानीयवासी, सवारीधनी तथा व्यवसायीहरूलाई विशेष आग्रह गरेको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार