
काठमाडौ : धादिङको ज्वालामुखी गाउँपालिकालाई देशकै पहिलो नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा गरिदैछ।
प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्यालको प्रमुख आतिथ्यमा ज्वालामुखी–४ स्थित बराकालिका माध्यमिक विद्यालयमा आयोजना हुने कार्यक्रममा ज्वालामुखी गाउँपालिकालाई आज नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा गर्न लागिएको हो।
गाउँपालिकाले खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा दीर्घकालीन सुधार गर्दै ६ हजार ७९ घरपरिवारलाई देशकै पहिलो नमुना सफा र स्वच्छ गाउँपालिका घोषणा हुने अवसर बनाएको हो।
गाउँपालिकाले वि.सं. २०७६ सालदेखि विभिन्न साझेदार संस्थासँगको सहकार्यमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी गतिविधि अघि बढाउँदै आएको छ। खुला दिसामुक्त क्षेत्र घोषणा पश्चात पूर्ण सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै नमुना सफा र स्वच्छ गाउँपालिका अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) कार्यक्रमलाई व्यवस्थित गर्दै ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डमार्फत एकद्वार प्रणाली अपनाइएको छ। “ज्वालामुखी सरकार, मिशन दुई हजार बयासी, सफा र स्वच्छ क्षेत्र ज्वालामुखी हाम्रो पहिचान” भन्ने नाराका साथ अभियानलाई अघि बढाइएको हो।
स्वास्थ्य शाखा तथा गाउँपालिका स्तरीय समन्वय समितिको अनुगमन र सहजीकरणमा सरसफाइ सम्बन्धी मापदण्ड पूरा गरिएका आधारमा सबै घरधुरीलाई नमुना सफा र स्वच्छ घर घोषणा गरिएको गाउँपालिकाले जानकारी दिएको छ।


163 पटक हेरिएको 

