भूकम्पले क्षति पुर्‍याएको ४ सय ८० खानेपानी योजनाको पुनर्निर्माणमा अलमल

१ सय ४३ खानेपानी योजनाको मुहान सुके

  वास खबर सम्बाददाता  155 पटक हेरिएको

जाजरकोट : जाजरकोटको नलगाड नगरपालिका-५ स्थित ऐरारी र लबिसा खानेपानी योजनाको मुहान दुई वर्षअघिको भूकम्पले सुक्यो । जसका कारण दुई बस्तीका झन्डै ८० घरमा खानेपानीको हाहाकार छ ।

‘वरिपरिका गाउँ चहार्दै पानीको जोहो गर्नुपर्ने बाध्यता भयो, पानी ल्याउन पनि पालो कुर्नुपर्ने बाध्यता छ,’ स्थानीय दिलबहादुर ओलीले भने, ‘महिला र बालबालिकाको काम नै पानी ओसार्ने हुन थाल्यो, एक गाग्री पानीका लागि कम्तीमा आधा घण्टा हिँड्नुको विकल्पै छैन ।’

भूकम्पले बारेकोट-१ स्थित बयाला खानेपानी योजनामा पनि क्षति पुर्‍यायो । भूकम्पका कारण मुहान पुरिएपछि बयालासहित आसपासका गाउँका झन्डै दुई सय परिवार पनि आधा घण्टा हिँडेर पानीखोला, लहरेखोला, जामुनलगायत खोलाको पानी ल्याउन बाध्य छन् । ‘बिहान ल्याएको एक गाग्री पानीले खाना पकाउन नै पुग्दैन,’ स्थानीय सरस्वती घर्तीले भनिन्, ‘खडेरी लागेपछि गाउँ वरिपरिका मुहान पनि सुके, भोक प्यास नभनी दिनभर एक जनाको काम नै पानी बोक्ने नै हुन्छ, अहिले त अड्कलेर पानी प्रयोग गर्न बाध्य छौं ।’

२०८० कात्तिक १७ गते जाजरकोटको बारेकोटलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण जिल्लाभरिका १ सय ४३ खानेपानी योजनाको मुहान सुकेको जिल्ला विपद् व्यवस्थापन समिति जाजरकोटको तथ्यांक छ । समितिका अनुसार १ सय ६ खानेपानी योजनाको टंकी, पाइपलाइन लगायत संरचना भत्किएका कारण खानेपानीको आपूर्ति बन्द भएको थियो । खानेपानीको समस्याका कारण टहराको बसाइ कष्टकर बनेको भेरी–१ रिम्नाकी पूर्णकला रानाले बताइन् । उनका अनुसार पिउनेदेखि शौच जान र पशुचौपायालाई खुवाउने पानीको जोहो गर्नै रिम्नाका झण्डै डेढ सय घरधुरीलाई धौ–धौ भएको छ ।

गाउँमाथिको बुदबुदी खानेपानी मुहानको पानी भूकम्पका कारण भासिएपछि धारामा पानी आउन छोडेको उनले बताइन् । अहिले आधा घण्टा टाढाको भेरी नदी गएर पानी ल्याउनुपर्ने बाध्यता भएको उनको गुनासो छ । ‘पानीको अभावमा आसपासका झाडीहरुका गएर शौच गर्नुपर्ने बाध्यता छ,’ उनले भनिन्, ‘स्थायी आवास बनाउन त सरकारले बेवास्ता गर्‍यो नै खानेपानीको जोहो पनि गरिदिएन ।’

जाजरकोटमा सबैभन्दा बढी नलगाड नगरपालिकामा २३ योजना पूर्ण रूपमा र २६ योजनामा आशिंक क्षति पुगेपछि खानेपानी समस्या देखिएको नगरप्रमुख डम्बरबहादुर रावतले बताए । उनका अनुसार भूकम्पले क्षति पुगेका केही योजना मर्मत गरिए लामो खडेरीका कारण मुहान सुक्न थालेपछि झन्डै ३ हजार परिवार खोला, भेरी नदी र विभिन्न मुहान चहारेर खानी खोज्न बाध्य छन् । ‘भेरी नदी किनारका बस्तीका बासिन्दा नदीकै दूषित पानी उपभोग गर्न बाध्य छन्,’ उनले भने, ‘दूषित पानीका कारण झाडापखाला, आउलगायत स्वास्थ्य समस्या पनि देखिन थालेका छन् ।’

बढ्दो गर्मीसॅगै दूषित पानीका कारण ज्वरो, रुघाखोकी, टाइफाइड, झाडापखालालगायतका बिरामी बढेको नलगाड नगर अस्पतालका प्रमुख विशाल उप्रेतीले बताए । अस्पतालमा दैनिक १ सय ५० जनासम्म बिरामी उपचारका लागि आउने गरेको उनको भनाइ छ ।

पहिले पनि खानेपानी अभाव रहेको जाजरकोटमा भूकम्पपछि झन् खानेपानी अभाव चुलिएको नलगाड नगरपालिका-४ का वडाध्यक्ष बद्री पन्तले बताए । ‘भूकम्पपछि गत वर्ष र यो वर्ष लामो खडेरी पर्‍यो,’ उनले भने, ‘पानी सुकेपछि भेरी नदीको दूषित पानी पिउनुको विकल्पै भएन ।’

खानेपानी अभावका कारण पशुपालनमा ठूलो असर परेको उनको भनाइ छ । खानेपानी अभावको समस्या समाधान गर्न योजनाको प्राथमिकीकरण गरिएको बारेकोट गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले बताए । ‘भूकम्पले अरू सार्वजनिक संरचनासँगै सबै वडामा खानेपानी योजना पनि क्षतविच्छेद बनाएको छ,’ उनले भने, ‘गत वर्ष झन्डै २० वटा योजनामा काम भएको छ, चालु वर्षमा पनि खानेपानीलाई प्राथमिकता दिएका छौं ।’

भूकम्पका कारण जाजरकोट, सल्यान र रुकुम पश्चिममा विभिन्न ४ सय ८० खानेपानी योजनामा क्षति पुग्दा झन्डै ३ अर्ब रुपैयाँको क्षति भएको कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको तथ्यांक छ ।

बजेटको समस्याले भूकम्पपछिको खानेपानी अभावको समस्या हल गर्न नसकिएको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय जाजरकोटका प्रमुख वीरेन्द्र चन्दले बताए । उनका अनुसार यो वर्ष ७ वटा स्थानीय तहबाट १ अर्ब ६ करोड रुपैयाँको बजेट माग भइ आएकोमा करिब ८ करोड रुपैयाँ मात्र बजेट परेको खबर कान्तिपुरबाट साभार गरिएको हो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार