
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका नेपालकै पहिलो नमुना र स्वच्छ गाउँपालिका घोषणा भएको छ ।
प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले करुवाबाट पानी पिएर आज ज्वालामुखी गाउँपालिकालाई देशकै पहिलो नमुना र स्वच्छ गाउँपालिका घोषणा गर्नुभएको हो । उहाँले नमुना र स्वच्छ गाउँपालिका निर्माणका लागि १५ सूचक र ४५ उपसूचकको कडा कार्यान्वयन र दिगोपनाको प्रतिबद्धतामा समेत हस्ताक्षर गर्नुभयो।

२०७३ साल चैत्र १९ गते खुला दिसामुक्त क्षेत्र घोषणा गरेर ‘कोखदेखि शोकसम्म ज्वालामुखी सरकार, मिसन दुई हजार बयासी, सफा र स्वच्छ क्षेत्र ज्वालामूखी’ नाराका साथ थालेको गाउँपालिकाले यस अघि सबै वडालाई सफा तथा स्वच्छ क्षेत्र घोषणा घोषणा गरिसकेको छ ।
२०७३ साल देखि थालिएको अभियान सबै वडामा पुगेपछि गाउँपालिकालाई नमुना र स्वच्छ गाउँपालिका घोषणा चरणमा पुगेको गाउँपालिकाका अध्यक्ष यामनाथ दनैले बताउनुभयो ।
खानेपानी तथा सरसफाइ व्यवस्थापनमा लागू गरिएको बोर्ड मोडल देशकै उत्कृष्ट अभ्यास बनेको बताउँदै तीन हजारभन्दा बढी घरधुरीमा सुरक्षित खानेपानी सेवा, स्रोत संरक्षण, प्रविधियुक्त व्यवस्थापन र समतामूलक वितरण गरिएको बताइएको छ ।
गाउँपालिकाले २०७३ सालदेखि विभिन्न साझेदार संस्थासँगको सहकार्यमा खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी गतिविधि अघि बढाउँदै आएको छ। खुला दिसामुक्त क्षेत्र घोषणा पश्चात पूर्ण सरसफाइ कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै नमुना सफा र स्वच्छ गाउँपालिका अभियान सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) कार्यक्रमलाई व्यवस्थित गर्दै ज्वालामुखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्ड मार्फत एकद्वार प्रणाली अपनाइएको छ।



263 पटक हेरिएको 

