
चितवन : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठ र खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनका प्रमुख शेखर चन्द्र केसी सहितको टोलीले आज चितवन र नवलपुरका दुई महत्वपूर्ण खानेपानी आयोजनाको स्थलगत अनुगमन गरेको छ।
अनुगमनका क्रममा टोलीले पिठुवा सहलगानी खानेपानी तथा सरसफाइ आयोजना, रत्ननगर नगरपालिका, चितवन तथा अमरावती (अमरापुरी) खानेपानी आयोजना, गैँडाकोटको प्रगति अवस्थाबारे स्थलगत जानकारी लिएको थियो।
स्थलगत अनुगमनपछि महानिर्देशक श्रेष्ठले दुवै आयोजनालाई निर्धारित समयसीमा भित्रै सम्पन्न हुने गरी निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो। उहाँले गुणस्तरमा कुनै सम्झौता नगरी तोकिएको समयमै आयोजना सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो।

अनुगमनका क्रममा निर्माण व्यवसायीहरूले पनि दुवै आयोजना समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। निर्माण पक्षले आवश्यक जनशक्ति, सामग्री र प्राविधिक व्यवस्थापनलाई प्रभावकारी बनाउँदै तोकिएको अवधिभित्रै काम सक्ने विश्वास दिलाएको खानेपानी तथा ढल व्यवस्थापन कार्यालय चितवनका प्रमुख शेखर चन्द्र केसीले बताउनुभयो।
यी आयोजनाहरू सम्पन्न भएपछि चितवनको रत्ननगर क्षेत्र तथा गैँडाकोट–अमरापुरी आसपासका समुदायलाई दिगो र भरपर्दो खानेपानी सेवा उपलब्ध हुने अपेक्षा गरिएको छ।


415 पटक हेरिएको 

