काठमाडौं : फोहोरमैला व्यवस्थापनका सफल अभ्यासहरू, महिला उद्यमशीलताको प्रवर्द्धन तथा चक्रिय अर्थतन्त्रको अवधारणालाई केन्द्रमा राख्दै ललितपुरमा एक दिने राष्ट्रिय छलफल कार्यक्रम आयोजना हुने भएको छ।
ग्रामीण स्वावलम्बन विकास केन्द्र र नेपाल डेभलपमेन्ट ईनिसिएटिभ प्रा. लि. को सहकार्यमा “फोहोरमैला व्यवस्थापन तथा महिला उद्यमशीलतामा उत्कृष्ट अभ्यासहरू” विषयक कार्यक्रम वैशाख ११, २०८३ मा ललितपुरमा आयोजना हुन लागेको हो।
कार्यक्रममा संघीय तथा स्थानीय सरकारका प्रतिनिधि, सहकारी संस्था, निजी क्षेत्र, नागरिक समाज तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहने ग्रामीण स्वावलम्बन विकास केन्द्रकी स्वेच्छा कारन्जितले जानकारी दिनुभयो।
कार्यक्रममा प्रस्तुतीकरण, प्रदर्शनी तथा प्यानल छलफलमार्फत नेपालमा फोहोरमैला व्यवस्थापनका सफल अभ्यासहरू, नवप्रवर्तनात्मक मोडेलहरू तथा समुदायस्तरमा प्रभावकारी रूपमा कार्यान्वयन भएका पहलहरूबारे अनुभव आदानप्रदान गरिनेछ। साथै, फोहोर व्यवस्थापन क्षेत्रमा महिला उद्यमशीलता प्रवर्द्धन र चक्रिय अर्थतन्त्र लाई विशेष प्राथमिकताका साथ छलफलमा समेटिने जनाइएको छ।
नेपाल डेभलपमेन्ट ईनिसिएटिभकी प्राची खनालले यस्तो कार्यक्रमले फोहोर व्यवस्थापनलाई केवल सरसफाइको विषयमा सीमित नराखी आर्थिक अवसर, महिला सशक्तीकरण र दिगो शहरी विकाससँग जोड्ने महत्वपूर्ण मञ्च प्रदान गर्ने बताउनुभयो। “फोहोरमैला व्यवस्थापन अब केवल सरसफाइको विषय मात्र होइन, यो महिला उद्यमशीलता, हरित रोजगारी र चक्रिय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको क्षेत्र हो। यो कार्यक्रमले सफल अभ्यासहरूलाई साझा गर्दै नीतिगत सुधार र संस्थागत सहकार्यलाई थप बल पुर्याउने विश्वास लिएका छौं,” प्राची खनालले भन्नुभयो।
यस कार्यक्रमबाट नीतिगत सुधार, संस्थागत सहकार्य तथा दिगो फोहोर व्यवस्थापन प्रणाली सुदृढीकरणका लागि महत्वपूर्ण सुझावहरू प्राप्त हुने खनालले अपेक्षा गरिएको खनालले बताउनुभयो।
कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिहरूले तलको लिंक मार्फत आफ्नो नाम दर्ता गर्न सक्नेछन्।
दर्ता लिंक: https://forms.gle/7XxbxsVoWF7ecSbP8


247 पटक हेरिएको 


