
नवलपरासी : सुनवल खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले खानेपानी महसुल तथा धारा जडान शुल्कमा समायोजन गर्दै दर घटाएको छ। संस्थाले २०८३ साल वैशाख १ गतेदेखि लागू हुनेगरी नयाँ दररेट सार्वजनिक गरेको हो।
संस्थाद्वारा जारी सूचनाअनुसार न्यूनतम ० देखि ५ युनिटसम्मको महसुल भने यथावत् रु ५० नै कायम गरिएको छ। तर अन्य श्रेणीमा भने उल्लेख्य रूपमा शुल्क घटाइएको छ। नयाँ दर अनुसार ६ देखि १० युनिटसम्म प्रति युनिट रु २० बाट घटाएर रु १२ कायम गरिएको छ। त्यस्तै ११ देखि २० युनिट सम्मको दर रु २२ बाट घटाएर रु १८ निर्धारण गरिएको छ।
२१ देखि ३० युनिटसम्मको शुल्क रु २५ बाट घटाएर रु २० कायम गरिएको संस्थाका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।यस्तै ३१ देखि ४० युनिटसम्म प्रति युनिट रु २२ कायम गरिएको छ भने ४१ युनिटभन्दा माथि प्रयोग गर्ने उपभोक्ताले अब प्रति युनिट रु ३० तिर्नुपर्नेछ, जुन अघिल्लो रु ३५ भन्दा कम हो।
संस्थाले धारा जडान शुल्कमा समेत ठूलो कटौती गरेको छ। यसअघि रु १० हजार १० रहेको शुल्क घटाएर अब रु ७ हजार ५ सय कायम गरिएको छ। अध्यक्ष न्यौपानेका अनुसार सबै नागरिकलाई खानेपानीको पहुँच सहज बनाउन तथा उपभोक्तालाई राहत दिने उद्देश्यले दररेट समायोजन गरिएको हो।
हाल यस संस्थाले सुनवल नगरपालिका वडा नम्बर १, २, ३, ४, ६ र १० का करिब ५ हजार ३ सय घरधुरी तथा करिब ३७ हजार जनसंख्यालाई खानेपानी सेवा प्रदान गर्दै आइरहेको छ ।


125 पटक हेरिएको 

